धारापानी मन्टेश्वरीका विद्यार्थी दीक्षित

-


     श्रीभद्र पौडेल    
     चैत्र २५ गते २०८२ मा प्रकाशित


पोखरा–५, जनहित मार्ग स्थित धारापानी मन्टेश्वरीले विद्यार्थीलाई दीक्षित गरेको छ।
मन्टेश्वरीको आज बुधबार आयोजित अभिभावक दिवस, पुरस्कार वितरण समारोहका बीच युकेजी उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको हो।
कार्यक्रममा भनाई राख्नुहुँदै पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारीले अभिभावकले बाबुनानीका लागि प्रर्याप्त समय दिनुपर्ने उल्लेख गर्नुहुँदै स्वास्थकर खानेकुरालाई प्राथमिकतामा राख्न सुझाउनुभयो ।उहाँले बालबालिकालाई गिलो माटोको संज्ञा दिनुहुँदै उनीहरुलाई संस्कारयुक्त बनाउन घरदेखि समाज हुँदै विद्यालयसम्मको वातावरणले भूमिका खेल्ने स्पष्ट पार्नुभयो।
कर्मचारी छनोट समितिका संयोजक सुरज पौडेलले शिशुको मस्तिष्क विकास गर्भावस्थाबाटै सुरु हुने उल्लेख गर्नुहुँदै त्यस अवस्थामा विशेष ध्यान दिन सुझाउनुभयो ।उहाँले आचरणयुक्त बालबालिका निर्माणका लागि अभिभावक चनाखो बन्नुपर्ने जनाउनुहुँदै उनीहरुले नै भविष्यमा देश विकास गर्ने औँल्याउनुभयो।


त्यस अवसरमा सल्लाहकार सुभद्रा कोइराला, अभिभावकहरु शोभाखर अधिकारी, रिना पौडेल, सरिता पराजुली लगायतले पनि भनाई राख्नुभयो ।उहाँहरुले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्नुहुँदै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो।
मन्टेश्वरी व्यवस्थापन समितिका अध्यक्ष कमला त्रिपाठी अधिकारीले आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्यमान्यताका आधारमा भविष्य निर्माण गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयो।
प्रधानाध्यापक शारदा शर्माले मन्टेश्वरीलाई नमूना शैक्षिक संस्था बनाउन प्रयास भइरहेको सुनाउनुहुँदै विद्यार्थीको आगामि शैक्षिक सफलताको कामना गर्नुभयो।
कार्यक्रमका बीच शैक्षिक एवम् अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गरियो । त्यस्तै उत्कृष्ट शिक्षकबाट पूर्णकला ढुङगाना तथा उत्कृष्ट अभिभावकका रुपमा रिना पौडेल र विमला परियार पुरस्कृत हुनुभयो ।त्यस्तै विद्यार्थी र शिक्षकले विभिन्न प्रस्तुति राख्नुभयो।
मन्टेश्वरी व्यवस्थापन समितिकी अध्यक्ष कमला त्रिपाठी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानाध्यापक शारदा शर्माले स्वागत तथा शिक्षक विकला पोख्रेल पौडेलले कार्यक्रम संचालन गर्नुभयो।