होलवडी चेकअपमा कान परीक्षणलाई पनि समेटौं

-


     श्रीभद्र पौडेल    
     श्रावण १९ गते २०८२ मा प्रकाशित


होलवडी चेकअप गर्दा कान परीक्षणलाई पनि समेट्नुपर्नेमा जोड दिइएको छ।
शनिबार प्रस्याङमा भएको निःशुल्क कान परीक्षण तथा उपचार शिविरका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।उनीहरुले कान महत्वपूर्ण अङग हुदाँहुँदै पनि कम महत्व दिने गरेकोमा दुखेसो पोखे ।
शिविर उद्घाटन गर्दै पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले कान महत्वपूर्ण अङग भएपनि मानिसले त्यसलाई महत्व नदिने गरेको औँल्याउँदै कानको उपचारमा पनि ध्यान दिनुपर्ने बताइन् ।उनले त्यस क्षेत्रका संस्थाको सहकार्यमा शिविर आयोजना भएकोमा खुशी व्यक्त गर्दै हुदाँ खाने वर्गलाई सेवा दिनु सबैभन्दा महत्वपूर्ण हुने स्पष्ट पारिन्।
वडा सदस्य कल्पना भुवाजी क्षत्रीले स्वास्थ्य परीक्षणको प्याकेजभित्र कान परीक्षण पनि समेट्नुपर्ने उल्लेख गर्दै शिविरमा प्राविधिक सहयोग उपलब्ध गराउने नेलम्बो प्रति आभार जनाइन्।

नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले शिविरबाट फाइदा लिन सबैसँग आग्रह गर्दै नाक, कान, घाँटी संवेदनशील अङग भएको बताए।उनले होलवडी चेकअप भित्र कान परीक्षणलाई पनि समेट्नुपर्ने औँल्याए।
धारापानी टोल विकास संस्था ‘ख’ का अध्यक्ष हरीश्चन्द्र अधिकारीले समाजलाई सेवा दिने उद्देश्यका साथ शिविर आयोजना गरिएको स्पष्ट पार्दै विकासमा हातेमालो गर्नुपर्ने भनाई राखे।
सो अवसरमा जनहित आमा समूह अध्यक्ष चन्द्रावती गैह्रे अधिकारी, धारापानी महिला बहुउद्देश्यीय सहकारी अध्यक्ष गीतादेवी पौडेल, प्रस्याङ ठूलीपोखरी आमा समूह अध्यक्ष पवित्रा उपाध्याय लगायतले पनि धारणा राखे।
शिविरमा कुल २ सय ६१ जनाले कान परीक्षण गराएका छन्।प्रस्याङ स्थित ६ संस्थाको आयोजनामा भएको उक्त शिविरमा नेलम्बो नेपालले प्राविधिक सहयोग गर्यो ।जसमा नेलम्बोको तर्फबाट डा. विनोद बराल, विन्दिया पटेलको नेतृत्वमा ९ जना स्वास्थ्यकर्मी टोली खटिए।
पोखरा ५ स्थित धारापानी टोल विकास संस्था ‘ख’, जनहित महिला समूह, धारापानी बाल क्लव, धारापानी आमा समूह, प्रस्याङ ठूलीपोखरी आमा समूह तथा धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शिविर भएको हो।
धारापानी आमा समूह अध्यक्ष मीरा केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम प्रस्याङ ठूलीपोखरी आमा समूह सचिव कमला लामिछानेले संचालन गरिन्।