
पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ।
रानीपौवा स्थित अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टरको आयोजना तथा विद्यालयको व्यवस्थापनमा आज सोमबार शिविर भएको हो।
शिविर शुभारम्भ गर्नुहुँदै प्रधानाध्यापक भुवन सुवेदीले दाँत स्वास्थ रहेमात्रै मानिसको आँत तन्दुरुस्त हुने उल्लेख गर्नुहुँदै जीवनमा मुख स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने औँल्याउनुभयो।
उहाँले शिविरबाट अधिकत्तम लाभ लिन विद्यार्थी तथा अभिभावकलाई सुझाव दिनुहुँदै आगामि दिनहरुमा अर्किड डेण्टलसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो । विद्यार्थीको स्वास्थ्य सरलीकृत गर्ने पक्षमा विद्यालय हर अवस्था तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टर प्रमुख डा. हिमशिला श्रेष्ठले शिविर प्रभावकारी बनाउनुपर्ने जनाउनुहुँदै स्वास्थ्य जीवनका लागि सन्तुलित आहार व्यवहार एवम् नियमित व्यायाम आवश्यक रहेको धारणा राख्नुभयो।उहाँले दाँतको हेरचाहमा विशेष ध्यान दिनुपर्ने जनाउनुहुँदै दाँतको सेवा सर्वसुलभ नभएको पनि उल्लेख गर्नुभयो।डा. श्रेष्ठले दाँत तथा मुख स्वास्थ्यका कारण विभिन्न दीर्घ रोग लाग्ने गरेको भन्नुहुँदै गुरुकुल विद्यासदनमा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।
सहायक प्रधानाध्यापक फणिन्द्र अधिकारीले आयोजक संस्थाप्रति आभार प्रकट गर्नुहुँदै मुख स्वास्थ्यको महत्व माथि प्रकाश पार्नुभयो।
शिविरमा प्रमुख डा.श्रेष्ठको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोली खटिनुभयो ।शिविरको पहिलो दिन आज विद्यार्थी तथा अभिभावक समेत गरी कुल ४ सय जनाको दन्त परीक्षण गरियो।
प्रधानाध्यापक भुवन सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहायक प्रधानाध्यापक फणिन्द्र अधिकारीले संचालन गर्नुभयो।
त्यसैबीच समय व्यवस्थापन गरी सम्पूर्ण विद्यार्थी (कुल एक हजार ३ सय) तथा अभिभावकको दन्त परीक्षण गर्ने तयारी पनि विद्यालयको छ।










