गोठदेखि ओठसम्मःजन्मदेखि मृत्युसम्म एग्रो टुरिजम सहकारी

-


     श्रीभद्र पौडेल    
     भाद्र ७ गते २०८३ मा प्रकाशित


पोखरा–३३, ठुलढुङ्गाचोक स्थित एग्रो टुरिजम सहकारी संस्था लि.को पाँचौँ वार्षिक साधारणसभा शनिबार भएको छ।
सभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सभामुख कृष्णप्रसाद धितालले नेपालको अर्थतन्त्र विकासमा कृषि पर्यटनको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै सहकारीले कृषि मार्फत समृद्धि खाजेकोमा खुशी व्यक्त गरे।‘यो फरक प्रकृतिको सहकारी हो, जसको उद्देश्य महान् छ र उद्देश्य प्राप्तिका लागि निरन्तर क्रियाशिल हुनुपर्दछ सभामुख धितालले भने।’
सभामुख धितालले देशको माटोलाई नबुझ्दा नेपालमा दिनप्रतिदिन कृषि उपजको आयत बढिरहेको उल्लेख गदै माटोको महिमा बुझ्नसक्नुपर्ने जनाए।समाज विकासमा सहकारीको भूमिका स्पष्ट पार्दै सभामुख धितालले एग्रो सहकारीलाई अनुमति लिएर गाँजा खेती प्रवर्धनमा जुट्न सुझाव दिए।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजीप्रसाद बरालले इमान्दार नेतृत्वका कारण एग्रो सहकारी हालको अवस्थामा आउन सफल भएको धारणा राख्दै सहकारी अर्थव्यवस्थाको महत्वपूर्ण खम्बा भएको औँल्याए। पैसा कमाउनु ठूलो कुरा नभई पैसाको सही परिचालन एवम् संचालन खर्च कटौती महत्वपूर्ण भएको उनको ठहर छ ।
सल्लाहकार लक्ष्मण थापाले संस्थाले सष्ट्रा सम्मान गर्न थालेकोेमा खुशी व्यक्त गर्दै शेयर सदस्य सम्पूर्णको मनमा सहकारी बस्न सफल भएको भनाइ राखे।
सल्लाहकार सुभाष ढुङगानाले शेयर सदस्यले सक्दो संस्थामा कारोवार गर्नुपर्ने भन्दै ‘एक थुकी सुकीःसय थुकी नदी’को अवधारणा नै सहकारी भएको स्पष्ट पारे।
जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले काम, कर्तव्य तथा दायित्व पूरा गर्न सदस्यलाई आग्रह गर्दै सहकारीको सफलता शेयर सदस्यको क्रियाशिलतामा भरपर्ने उल्लेख गरे।
सो अवसरमा ज्योति महिला बचत तथा ऋण सहकारीका अध्यक्ष राधादेवी बराल, भरतपोखरी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले पनि भनाइ राखे।
कार्यक्रमका बीच साहित्य सष्ट्रा क्षेत्रबाट लक्ष्मण थापा, सल्लाहकार सुवाष ढुङगाना, कृषक गोविन्द चापागाई, पूर्व व्यवस्थापक आस्था नेपाली, पूर्व कर्मचारी लक्ष्मी गिरी, पूर्व उपाध्यक्ष टीकाराम पौडेल, पूर्व सचिव बाबुराम सुवेदी, पूर्व सदस्यहरु शिवप्रसाद लामिछाने र वसन्तचन्द्र शर्मा, पूर्व लेखा संयोजक शम्सेरबहादुर नेपाली तथा पूर्व लेखा सदस्य सुरेश बराल सम्मानित भए।
त्यस्तै मुद्धती बचतकर्ता ऋषिराम भण्डारी, दैनिक बचतकर्ता आकृति थापा, खुत्रुके बचतकर्ता श्रीनिका पौडेल, असल ऋणी ईश्वर कँडेल, कृषि उद्यमी व्यवसायी शान्तिदेवी अधिकारी, वर्ष कर्मचारी सरिता गिरी सम्मानित भए।
त्यस्तै संस्थाले जेष्ठ नागरिकतर्फ चन्द्री बराल र गोविन्द चापागाई, एसइईतर्फ स्नेहा थापा, किञ्जल गिरी र दृष्ट्रि लामिछाने, दश जोड २ तर्फ अंकित आचार्य, दीक्षा वाग्ले, सर्गम गिरी, किस्मत भट्टराई, सुसान विक र सौजन्य केसी, स्नातकतर्फ सिसम पौडेल र सुहाना खत्री, स्नातकोत्तरतर्फ सुवास ढुङगाना, सरकारका अधिकृत लिलाधर सुवेदी लगायतलाई पनि सम्मान गर्यो।
सहकारी अध्यक्ष डिल्लीराम बरालले गोठदेखि ओठसम्म तथा जन्मदेखि मृत्युसम्म संस्था जोडिएको स्पष्ट पार्दै भरतपोखरीमा स्थापना भएको एग्रो टुरिजम राष्ट्रिय सहकारी बन्दै भएको दावी गरे।पछिल्लो समय सहकारीमा युवा आकर्षण बढ्दै जानु सुःखद् भएको उल्लेख गर्दै बरालले संस्थाद्वारा संचालित कोसेली घरलाई महानगर तथा संस्थाको संयुक्त लगानीमा चालु वर्ष १० लाख रकमले थप व्यवस्थित गरिने उल्लेख गरे।
लेखा समिति संयोजक अप्सरा रेग्मी पौडेलले ज्ञान, सीप र क्षमताले नै संस्था संचालन हुने स्पष्ट पार्दै इमान्दार भएर ऋण लिन र तिर्न सुझाव दिइन् ।उनले ऋण लगानी गर्दा धितो मूल्याङकनलाई मात्रै आधार नबनाई ऋणीको वर्तमान् आयस्रोत खुल्ने कागजात सहित फाईलहरुको वर्गीकरण गरी समयानुकुल व्यवस्थित गर्नुपर्ने स्पष्ट पारिन्।
सम्मानित कृषक चापागाईले एग्रो सहकारी मार्फत गाउँवासी स्वरोजगार हुन सफल भएको उल्लेख गर्दै कृषि सम्मानयोग्य पेशा हुनुपर्ने धारणा राखे।
त्यस अवसरमा अध्यक्ष बराल, सचिव मनुराज आचार्य, कोषाध्यक्ष दुर्गाप्रसाद लामिछाने, लेखा संयोजक अप्सरा रेग्मी पौडेलद्वारा प्रस्तुत विषयगत प्रतिवेदन छलफल सहित अनुमोदन भए।
कार्यक्रममा वर्षा गिरी, दिक्षा गिरी, भूमिका गिरी, अंशु थापा लगायतले विभिन्न सांस्कृतिक प्रस्तुति राख्दै मनोरञ्जन प्रदान गरे।
संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष श्रीभद्र बरालले स्वागत, शिक्षा समिति संयोजक रेखा थापाले सहकारी सिद्धान्त वाचन एवम् सचिव आचार्यले कार्यक्रम संचालन गरे।
भरतपोखरीमा प्रधान कार्यालय रहेको सहकारीले हाल विरौटामा सेवा केन्द्र संचालन गरेको छ ।संस्थामा हाल ४ सय ३७ जना सेयर सदस्य छन्।