छोरेपाटन माविमा भएको हाजिरजवाफमा ग्लोवल कलिजियट प्रथम

-


     श्रीभद्र पौडेल    
     भाद्र २० गते २०८३ मा प्रकाशित


पोखरा, १९ भदौं।नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल छोरेपाटन माध्यमिक विद्यालयको व्यवस्थापनमा शुक्रबार भएको जिल्लास्तरीय हाजिरजवाफ प्रतियोगितामा २८ विद्यालयलाई पछि पार्दै ग्लोवल कलिजियट माविको समूह प्रथम भएको छ।
उक्त प्रतियोगितामा विन्ध्यवासिनी मावि बाटुलेचौरको समूह द्वितीय, हेम्जा बोडिङ स्कूलको समूह तृतीय एवम् बालमन्दिर मावि काँडेको समूह सान्त्वना भए।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति विद्यालयले क्रमशः नगद रु. १० हजार, ७ हजार, ५ हजार, ३ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए।प्रतियोगितामा रेडक्रसका रमेशराज भण्डारीको संयोजकत्वमा श्रीकान्त पौडेल र शर्मिला सापकोटा सदस्य रहेको निर्णायक मण्डल तथा गौरीशंकर मनिलाल माविका शिक्षक केआर ढकालले प्रश्नकर्तामा सहजीकरण भूमिका निर्वाह गरे।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश वरालले कार्यक्रम आयोजना गरेकोमा जिल्ला रेडक्रस, व्यवस्थापन गरेकोमा छोरेपाटन माविलाई धन्यवाद दिर्दै सिकाइलाई व्यवहारिक बनाउनुपर्ने बताए।
उनले मानिसमा सामाजिक भावना हराउँदै गएकोमा दुःख व्यक्त गर्दै कर्तव्यविमुख बन्ने छुट कसैलाई नभएको धारणा राखे।मानिस जवाफदेही बन्नुपर्ने भन्दै सांसद बरालले जुरेसले नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको स्पष्ट पारे।
वडाध्यक्ष राधिकाकुमारी शाहीले प्रतियोगिता आयोजना गरी विद्यार्थीको प्रतिभा उजागर गर्न खोजिएकोमा खुशी व्यक्त गर्दै प्रतियोगितामा भाग लिनु नै महत्वपूर्ण भएको बताइन्।उनले विद्यार्थीलाई उच्च मनोबलका साथ अध्ययन गर्न सुझाव दिर्दै राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति बन्नुपर्ने बताइन् ।
रेडक्रस कास्की सभापति उर्मिला खड्काले व्यवस्थापकीय भूमिका निर्वाह गरेकोमा विद्यालयप्रति आभार जनाइन्।रेडक्रस विपद्मा काम गर्ने संस्था हो भन्दै सभापति खड्काले ४८ वटा उपशाखा तथा कुल १ सय ३० जुरेसको सहकार्यमा रसुवा बाढी पीडितका लागि राहात संकलन भइरहेको सुनाइन्।
छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले हाजिरजवाफ व्यवस्थापन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीले सौहार्दपूर्ण वातावरणमा प्रतिष्पर्धा गर्नुपर्ने उल्लेख गरे।
जुनियर युवा समितिका जिल्ला संयोजक डिल्लीराम बरालले समितिले यस वर्ष कुल १६ वटा कार्यक्रम तय गरेको जनाउँदै त्यसअन्तर्गत विभिन्न प्रतियोगितात्मक, प्रशिक्षण, चेतनामूलक कार्यक्रम र विभिन्न अभियान संचालन हुँदै आएको अवगत गराए।
त्यस अवसरमा जिल्लास्तरीय निबन्ध, एल्बम र चित्रकला प्रतियोगितामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कार पनि वितरण गरियो।
कार्यक्रमका बीच छोरेपाटन माविका सृष्टि सुनार, प्रज्ञा न्यौपाने, आस्था सुनार, निसान भुजेल, सुमन विक र नवराज राईको समूहले विभिन्न प्रस्तुति राखे।
छोरेपाटन मावि जुरेस अध्यक्ष अनुष्का ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक भुषालले स्वागत, जुरेसकी सलिना गुरुङले रेडक्रसका सिद्धान्त वाचन एवम् शिक्षक नायक सुवास पौडैलले कार्यक्रम संचालन गरे।