बाघमारा सहकारीकोे १४ औं वार्षिक साधारणसभा सम्पन्न

- जन्मदेखि मृत्युसम्म जोडिएको सहकारी

-


     श्रीभद्र पौडेल    
     असाेज ४ गते २०८३ मा प्रकाशित


पोखरा–३३, भगवती चौतारा स्थित बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो।
सभाका वक्ताले मानिसको जन्मदेखि मृत्युसम्म सहकारी जोडिएको छ भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।उक्त सहकारीले सदस्य सुत्केरी हुदाँ पोषण वापत रु.५ हजार तथा सदस्यको मृत्यु भएमा किरिया खर्च स्वरुप रु. १० हजार प्रदान गर्दै आइरहेको छ।
वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा सहकारी भरतपोखरीका घरघर तथा अन्य वडाका जनसमूदायमा पनि जोडिन सफल भएकोमा खुशी व्यक्त गर्दै आफूले सहकारीका गतिविधि नजिकबाट नियालीरहेको बताए। यो तपाई हाम्रो सहकारी होः उनले भने सहकारीमा सहकार्य भावना बलियो हुनुपर्दछ।
सहकारीका संस्थापक अध्यक्ष डिल्लीराम बरालले स्थापनाकालिन समय स्मरण गर्दै बाघमारा सहकारी भरतपोखरीको चिनारी भएको जनाए।उनले जन्मदेखि मृत्यसम्म, ओठदेखि गोठसम्म सहकारी पुग्ने गरेको उल्लेख गर्दै अव बाघमारालाई उत्पादनमूलक सहकारीका रुपमा विकास गर्नुपर्ने भनाई राखे।


सहकारी अध्यक्ष रमेशबहादुर कार्कीले संस्था मार्फत गाउँवासी एक हुन पाएको अनुभव राख्दै जसले सामाजिक भावना क्रमशः मजबुत बन्दै गएको प्रष्टाए ।कार्कीले वित्तिय क्षेत्र आफैमा चुनौतीपूर्ण व्यवसाय भएको धारणा राख्दै शेयर सदस्य सबैको रकम समान बनाउन खोजिएको स्पष्ट पारे।
भरतपोखरी साना किसान कृषि सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारीले सहकारीका गतिविधिका चाँसो राख्न सरोकारवालालाई आगह गर्दै सबै संघसंस्थाको ध्येय भरतपोखरीवासीको समृद्धि भएको प्रष्टाए।
सरास्वती टीका मा.वि अध्यक्ष विजयराज आचार्यले वित्तिय क्षेत्रमा हाल रहेको तरलतालाई लगानीमा परिणत गर्नुपर्ने भन्दै बाघमारा सहकारीका गतिविधि उदाहरणीय रहेको औँल्याए।
त्यस अवसरमा दैनिक बचतकर्तातर्फ माधवप्रसाद अधिकारी कुसुण्डे र कविता थापा कार्की भगवती चौतारा, खुत्रुके बचतकर्तामा जगतजंग कार्की कुसुण्डे र प्रनिका भण्डारी शान्तिटोल, ज्येष्ठ सदस्यतर्फ सीतादेवी अधिकारी चिसापानी एवम् लिलाधर आचार्य रघैचौर सम्मानित भए।
त्यस्तै कृष्णप्रसाद अधिकारी कुसुण्डे र सीता नेपाली ठुलाढुंगालाई असल कारोवारीका रुपमा पुरस्कृत गरियो ।त्यसैगरी आयुषा खड्का, सञ्जिवनी ढुङगाना र सुप्रिम नेपालले एसइई एवम् अंकित आचार्य र तानिया अधिकारीले +२ तर्फ शैक्षिक सम्मान प्राप्त गरे।त्यसैगरी तुलसीमणि अधिकारीको नेतृत्वमा रहेको निवर्तमान् कार्यसमिति पनि सम्मानित भयो। नगद सहायक तिलकुमारी थापामगर एवम् निवर्तमान् सह–व्यवस्थापक गिरीधारी अधिकारीलाई पनि सम्मान गरियो।
कार्यक्रमका बीच अध्यक्ष कार्की, कोषाध्यक्ष श्रीधर गिरी तथा लेखा समिति सदस्य पद्मकाजी पौडेलद्वारा प्रस्तुत विषयगत वार्षिक प्रतिवेदन छलफल सहित अनुमोदन भए।त्यस्तै खुशी सुनार, सुमी सुनार, सायरी अधिकारी लगायतको नेतृत्वमा रहेका समूहले सांस्कृतिक प्रस्तुति राखे।
सहकारी अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य पुष्पा अधिकारीले सहकारी सिद्धान्त वाचन, शिक्षा उपसमिति संयोजक विष्णुप्रसाद भण्डारीले स्वागत तथा सहकारी सचिव अर्जुनप्रसाद अधिकारीले कार्यक्रम संचालन गरे।
कुल एक हजार २ सय ९६ शेयर सदस्य रहेको उक्त सहकारीको शेयर पुँजी कुल रु. ३ करोड ८३ लाख ६१ हजार ५ सय छ ।