हाजिरजवाफमा छोरेपाटन मा.वि प्रथम

-


     अन्नपूर्ण खबर     
     मंसिर १३ गते २०८२ मा प्रकाशित


सामुदायिक विद्यालय कलष्टर (साविक) कास्की अन्तर्गतका विद्यालय स्तरीय माध्यमिक तह हाजिरजवाफ प्रतियोगितामा आयोजक छोरेपाटन मा.विको समूह प्रथम भएको छ।
उक्त प्रतियोगितामा विन्ध्यवासिनी मा.वि द्वितीय, बालमन्दिर मा.वि तृतीय तथा शीतलादेवी मा.विको समूह सान्त्वना हुन सफल भए।
कार्यक्रममा धारणा राख्नुहुँदै सामुदायिक विद्यालय कलष्टर (साविक) कास्की संयोजक केशवप्रसाद अम्गाईले विद्यार्थीको सर्वपक्षिय विकास र समृद्धिका लागि साविक कास्की निरन्तर लागि परेको उल्लेख गर्नुभयोे।उहाँले अनुशासनलाई ख्याल गर्दै अध्ययनलाई अगाडि बढाउन विद्यार्थीलाई सुझाव समेत दिनुभयो।
छोरेपाटन मा.विका अध्यक्ष बद्रीनाथ पहारीले कलष्टरका क्रियाकलापको प्रशम्सा गर्नुभयो।उहाँले कलष्टरका गतिविधिले विद्यार्थीलाई रचनात्मक कार्यमा प्रोत्साहन मिलेको स्पष्ट पार्नुहुँदै अतिरिक्त क्रियाकलापले शैक्षिक गतिविधिमा पनि टेवा पुग्ने औँल्याउनुभयो।
प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थी प्रतिभा प्रस्फुटनका लागि कलष्टरको महत्वपूर्ण भूमिका रहदै आएको स्मरण गर्नुहुँदै हाजिरजवाफ पनि त्यसकै निरन्तरता भएको धारणा राख्नुभयो।
प्रतियोगितामा अतिरिक्त क्रियाकलाप संयोजक समेत रहनुभएका शिक्षक टिकाप्रसाद पौडेल, शिक्षकहरु उमराज त्रिपाठी, रोशनप्रसाद श्रेष्ठ तथा महादेव पौडेलले सहजीकरण गर्नुभयो।
त्यस अवसरमा कलष्टर (साविक) कास्की संयोजक अम्गाई, विद्यालय अध्यक्ष पहारी, प्रधानाध्यापक शर्मा लगायतले संयुक्त रुपमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो।
प्रधानाध्यापक शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज बरालले स्वागत तथा शिक्षक युवराज सुवेदीले कार्यक्रम संचालन गर्नुभयो।