घरदैलोमा व्यस्त छन् उम्मेदवार गोपाल

-


     श्रीभद्र पौडेल    
     माघ २५ गते २०८२ मा प्रकाशित


प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट कास्की ३ का उम्मेदवार गोपाल गिरी यतिवेला घरदैलोमा व्यस्त छन्।
उनले शनिबार मात्रै लाहाचोक, घाचोक, हेमजा, मालेपाटनका विभिन्न टोलमा पुगी घरदैलो गरेका छन्।लाहाचोक स्थित गाउँपालिका कार्यालय आसपासको क्षेत्र, घाचोकको उत्पीडित तथा लम्साल थर, हेमजाको क्रान्ति टोल तथा मालेपाटनका विभिन्न क्षेत्रमा पुगी उनले जनतालाई ढाडस दिन खोजे।
त्यस क्रममा उनले आफू हिजो पनि जनप्रतिनिधि भएको बताउँदै जनताका समस्या प्रति संवेदनशील रहेको सुनाए।हुदाँ खाने जनतालाई अप्ठ्यारो पारेका तथा कतिपय झन्झटिला कानुन संशोधनमा पनि मेरो भूमिका रहन्छ, उनले भने।
हेमजाको क्रान्ति टोल स्थित मजदुर वस्तीमा घरदैलो गर्दै गिरीले आफू श्रमजिवीको पक्षमा रहेको सुनाए।गिरीले श्रमले उचित मुल्य पाउने गरी कानुन निर्माण गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए ।आफू जनताको पक्षमा रहेको दावी गर्दै गिरीले जनताको सेवक बनेर कार्य गर्ने बचनबद्धता व्यक्त गरे।
आफू सोही क्षेत्रको माटोमा हुर्किएको र जनताको दुःख सुख बुझेको इमानदार व्यक्ति भएको उनको दावी छ।
त्यस्तै उनले शनिबार मात्रै लाहाचोक, घाचोक र मालेपाटनमा निर्वाचन परिचालन सम्पर्क कार्यालय पनि उद्घाटन गरेका छन्।
गिरी अनुभवी बामपन्थी नेता मानिन्छन्।वि.सं २०११ मा रिभानमा जन्मिएका गोपाल कलिलो उमेर देखि नै कम्युनिस्ट विचारधाराबाट प्रभावित भई राजनीतिमा सक्रिय रहेका छन्।
विसं २०४४ मा शिक्षकबाट राजीनामा दिएर जनपक्षीय राजनीतिमा होमिएका उनी तत्कालीन पञ्चायती व्यवस्था विरुद्धको संघर्ष एवम् २०४६ को जनआन्दोलनमा हिरासत पनि बसे।
गिरीले तत्कालीन एमालेको जिल्ला कमिटी सदस्य र क्षेत्र नं.३ को सचिवालय सदस्य हुँदै वि.सं २०५४ मा जिल्ला विकास समितिको क्षेत्रीय सदस्य निर्वाचित भएर सेवा पनि गरे।
वि.सं २०७७ मा एमालेबाट विद्रोह गरी एकीकृत समाजवादीमा आबद्ध उनी अहिले पार्टी एकता प्रक्रियापछि बनेको नेपाली कम्युनिस्ट पार्टीबाट चुनावी मैदानमा होमिएका छन्।
गिरीले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने, युवाको भावना अनुसार कार्य गर्ने एवम् भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र रोजगारी सिर्जना मेरो पहिलो प्राथमिकता हुन्छ गिरीले घरदैलो क्रममा भनेका छन् ।उनले नागरिकको जीवनस्तर सुधार्न र दुर्गम क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको पनि सुनाएका छन्।
गिरीले आइतबार माछापुच्छे« गाउँपालिका अन्तर्गत सार्दीखोलामा वडा सम्पर्क कार्यालय उद्घाटन सँगै सोही क्षेत्रमा घरदैलो गर्ने उल्लेख गरेका छन्।