हेमजा साहित्य महोत्सव सुरु

-


     श्रीभद्र पौडेल    
     मंसिर २० गते २०८२ मा प्रकाशित


हेमजामा शुक्रबारदेखि साहित्य महोत्सव सुरु भएको छ।साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान उजिल्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
दुई दिनसम्म चल्ने उक्त महोत्सव अन्तर्गत पहिलो दिन नेपाली नाटक तथा रङगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा परिसंवाद भयो।
त्यस अवसरमा सष्ट्राहरुले साहित्यमा व्यङग्यात्मकता झल्कनुपर्ने स्पष्ट पार्दै नेपालको वहुलता, विभिन्नता तथा नेपाली माटो सुहाउँदो साहित्य आवश्यक रहेको औल्याए।गायक परिचित हुदाँ गीतकार ओझेलमा पर्ने परिपार्टीको उनीहरुले विरोध गरे।
त्यसका साथै साहित्यलाई युग सुहाउँदो बनाउनुपर्नेमा उनीहरु जोड छ ।विद्यागत धारणका बारेमा साहित्यकारका बीच नै विभेद हुनु, मुक्तलयलाई कतिपय अवस्थामा छाँडापनका हिसावले बुझिनु सष्ट्राको कमजोरी भएको उनीहरुको ठम्याई छ।सुन्दा तथा पढ्दा साहित्य आनन्द लाग्ने हुनुपर्ने उनीहरुको निष्कर्ष छ।
त्यस अवसरमा नेपाली नाटक तथा रङगमञ्चबारेमा प्राडा. रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस तथा प्राञ्जलले बहसमा सहजीकरण गरे।
वर्तमान् समयमा महाकाव्य लेखनबारे डा.नवराज लम्साल, माधव वियोगी र डा.रमेश शुभेच्छुले वहस तताए।उक्त वहसमा प्राडा. जगन्नाथ रेग्मीले सहजकर्ताको भूमिका निर्वाह गरे।
साहित्य महोत्सवका बीच वर्तमान् सन्दर्भमा नेपाली आख्यान विषयमा परिचर्चा पनि भयो।जसमा ज्ञानु अधिकारी, डा.रजनी ढकाल, तीर्थ गुरुङले चर्चा गरेकोमा डा.भूमिराज वस्ताकोटीले जिज्ञासा राखे।
त्यस्तै महोत्सवमा मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा पनि संवाद भयो।उक्त संवादमा सष्ट्राहरु जीवनसागर भण्डारी, सरु लामिछाने, डा.ईश्वरमणि अधिकारी, रामचन्द्र शर्मा, रुपिन्द्र प्रभावी, लोकराज अधिकारी, राजन बराल, रामचन्द्र क्षत्री, लक्ष्मण थापा, इन्दिरा चापागाईँ कल्याण पन्त, गीता तिवारी, टुकादेवी आचार्य, कल्पना भट्टराई, लक्ष्मी थापा लगायत सहभागि भए।
महोत्सवमा देशभरबाट सय बढी स्रष्टाको सहभागिता छ।साहित्यबारे जानकारी लिन तथा साहित्यको स्वाद चाख्न महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
महोत्सवको दोस्रो दिन शनिबार कविवर मुकुन्दशरण उपाध्यायलाई जन्मस्थल हेमजामा रथारोहण सहित अभिनन्दन गरिनेछ।त्यस क्रममा कविवर उपाध्यायको साहित्यिक यात्राका महत्वपूर्ण पक्ष प्रस्तुति सहितको झाँकी पनि देखाइने मूल समारोह समितिका उपाध्यक्ष कोविदशरण उपाध्यायले बताए।
त्यस्तै विभिन्न कृर्ति लोकार्पण, साहित्यिक परिसंवाद, सांस्कृतिक प्रस्तुति तथा स्थानीय कला संस्कृतिको प्रदर्शनी गर्ने कार्यसूची पनि रहेको महोत्सव संयोजक छन्दमणि त्रिपाठीले जानकारी दिए।
आलु गाउँमा रुपमा परिचित हेमजामा पछिल्लो समय हिले, मौरी हुँदै साहित्य महोत्सव पनि गरिएको हो।त्यहाँ वर्षिनी आलु महोत्सव हुँदै आएको छ।
साहित्य महोत्सव मार्फत हेमजा साहित्यिक चेतना र सिर्जनशील ऊर्जाको केन्द्रका रुपमा उभिने विश्वास गरिन्छ।महोत्सवले हेमजाको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा पु¥याउने अपेक्षा पनि गरिएको छ।