पुस्तान्तरणको वास्तविक अर्थ : अभिभावक हैन, युद्धकला सिकेको पुस्तालाई अग्रपंक्ति दिने समय

- गणतन्त्र दिवस २०८३ को अवसरमा

-


     शिवहरि सुवेदी     
     जेठ १५ गते २०८३ मा प्रकाशित


१. आठौं गणतन्त्र दिवस : उत्सवभित्रको तीतो प्रश्न आज २०८३ जेठ १५ । नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको आठौं वर्षमा प्रवेश गरेको छ। झण्डा फहराइन्छ, राष्ट्रिय गान गाइन्छ, सभा समारोह हुन्छन्। तर यस उत्सवको पूर्वसन्ध्यामा राजनीतिक दलहरू, विशेषगरी नेकपा (एमाले), आफैंसँग एउटा गम्भीर प्रश्नको जवाफ खोज्न बाध्य छन् : के हामीले युगीन परिवर्तनको गति बुझ्यौं ? के ‘अभिभावक’ बनेर बस्ने पुरानो मानसिकताले वर्तमान प्रविधि सञ्चालित समाजलाई नेतृत्व दिन सक्छ ? २. डार्क रुम र एल्गोरिदम : चेतनाको नयाँ युद्ध भूमि विगत दुई वर्षको राजनीतिक परिदृश्यले स्पष्ट पारिसकेको छ । जनताको चेतनामाथि कब्जा गर्ने प्रमुख हतियार अब सडकको माइक हैन, सामाजिक सञ्जालका एल्गोरिदम हुन्। ‘डार्क रुम’ (गुप्त साइबर कोठा) भन्नाले अदृश्य रूपमा सञ्चालित ती सञ्जाललाई बुझिन्छ, जसले झूटा भाष्य निर्माण गरी सयौं पटक दोहोर्याएर सत्यजस्तो बनाइदिन्छ। तीन वटा सरल वाक्यांश : ‘राष्ट्रियता मर्यो, जनजीविका सकियो, केही भएन’ यो भाष्य वास्तविकता होइन, अपितु एउटा सुसंगठित एल्गोरिदमिक हतियार हो। यसको प्रयोग गरि ‘उदायकाहरू’ (उद्वेलित, अराजकतामा आनन्द लिने, नकारात्मकताका पूजारी) ले दिनरात २४ सय पटक दोहोर्याएर जनताको आँखामा धुलो फालिरहेका छन्। तर सत्य यो हो ,सुरूङ मार्ग, सडक निर्माण भइरहेको छ, विद्युत् पुगेको छ, किसानले कोदोको मूल्य बढेको सुनाउँछन्, पर्यटन फर्किएको छ। तर नकारात्मक एल्गोरिदमले ती समाचार देख्नै दिँदैन। जब राजनीतिक दल अझै पनि ठूला जागरण भेला, ‘नेपो वेवी’ (भद्र सभ्य अभिवादन मात्र) र ‘भिक्टोरिया क्रस’ शैलीको फोटो सत्रमै व्यस्त हुन्छन्, तब डार्क रुमका रणनीतिकारहरूले युवा पुस्ताको मानसपटल पूर्णतः आफ्नो पक्षमा पारिसकेका हुन्छन्। एउटा यथार्थ : पन्ध्र सेकेन्डको रिल्सले सरकारको महिनौंको परिश्रमलाई ध्वस्त पार्न सक्छ। सडकको भीडले हैन, एल्गोरिदमले जित्छ अब। ३. ‘अभिभावक’ मोडेलको अन्त्य : अब चाहियो ‘सत्यको सेना’ पुरानो राजनीतिक संस्कृतिको गम्भीर बानी जव नेतृत्व आफैंलाई ‘अभिभावक’ ठान्छ। कार्यकर्ता र युवालाई आफूभन्दा ठूलो हुन दिँदैन। निर्णय केन्द्रित, माथिबाट तल आदेश जारी, र तल्लो तहको रचनात्मकता थिचिन्छ। यसले दुई कुरा जन्माएको छ : पहिलो, युवापुस्ता राजनीतिप्रति वितृष्णा; दोस्रो, ‘नेपो वेवी’ र ‘फोटो अपोर्चुनिज्म’ को संस्कृति जहाँ कामभन्दा कामको फोटो ठूलो हुन्छ। अहिलेको समयमा सत्य स्थापित गर्न सक्ने एउटै उपाय छ प्रविधि साक्षर, एल्गोरिदम बुझ्ने र डार्क रुमको जालो चिर्न सक्ने ऊर्जाशील पुस्तालाई अग्रपंक्तिमा राख्नु। ‘जसको समय छ, उसैलाई अगाडि बढाउने’ राजनीतिक साहस नै साँचो पुस्तान्तरण हो। यो केवल उमेरको समीकरण मात्र हैन क्षमता, प्रविधि र नयाँ युद्धशैलीको मान्यता हो। ४. नेपो वेवी र भिक्टोरिया क्रस : गतिलो पाठ पढाउने पुस्ताको प्रतीक्षा तीतो यथार्थ : हाम्रा अधिकांश सार्वजनिक अभियान ‘फोटोको लागि कार्यक्रम’ मा सीमित छन्। कतिपय नेताको दिनचर्यै यस्तो हुन्छ। बिहान एउटा कार्यक्रममा भाषण, दिउँसो हस्ताक्षर, बेलुका फोटो सत्र, तर मूल समस्या समाधानको नाममा केही गर्दैनन्। यिनैले ‘नेपो वेवी’ (सभ्य हात हल्लाउने शैली) र ‘भिक्टोरिया क्रस’ (फोटो खिच्न बहादुर देखिने प्रवृत्ति) लाई राजनीतिको प्रतिष्ठा मान्छन्। तर यी प्रवृत्तिले तीस वर्षमुनिको मतदातालाई केही दिन सक्दैन। त्यो पुस्ता डार्क रुम र एल्गोरिदमसँगै हुर्किएको छ। उसलाई सत्य चाहिन्छ तर सत्य त्यो हो जुन उसको मोबाइल स्क्रिनमा देखिन्छ। यदि राजनीतिले त्यहाँ आफ्नो उपस्थिति जनाउन सकेन भने, उसको दृष्टिमा ‘राजनीति नै बेकामे’ हुन्छ। गतिलो पाठ पढाउन सक्ने पुस्ता हाम्रा कलेज, टेक हब र स्टार्टअपहरूमा तयार छ। उनीहरूले डार्क रुमको गणित उल्टाउन सक्छन्, ‘केही भएन’ भन्नेहरूको पोस्टलाई तथ्यसहित च्यालेन्ज गर्न सक्छन्, सकारात्मक परिवर्तनलाई १५ सेकेन्डको रिल्स बनाउन सक्छन्। तर पार्टीले उनीहरूलाई फ्रन्टलाइन दिने कि रिजर्भ बेञ्च मा राख्ने , यो निर्णयले आगामी दशकको नेपाली राजनीतिको दिशा तय गर्नेछ। ५. पुस्तान्तरणको अर्थ : केन्द्रीय समितिमा उमेर घटाउने मात्र हैन विगतमा एमालेले पटक पटक पुस्तान्तरणको चर्चा गरेको छ। तर प्रायः त्यो महाधिवेशनको पूर्वसन्ध्यामा मात्र सीमित रह्यो। पुस्तान्तरणको अर्थ केन्द्रीय समितिमा तीस जना नयाँ अनुहार राखेर मात्र पूरा हुँदैन। पुस्तान्तरणको अर्थ : · पार्टीको नीति–निर्माण, सञ्चार रणनीति, चुनावी प्रतिस्पर्धा र संगठन विस्तारको जिम्मेवारी पूर्ण रूपमा ‘नयाँ खोपी’ लाई हस्तान्तरण गर्नु। · नेतृत्वको सम्पूर्ण प्रक्रिया (निर्णय, सञ्चार, प्रविधि प्रयोग) मा नयाँ शैली लागू गर्नु। · ‘अभिभावक’ को भूमिकाबाट बाहिरिएर ‘मार्गदर्शक’ को भूमिकामा रूपान्तरण हुनु हात समातेर हैन, जिम्मेवारी हस्तान्तरण गरेर हो । यो साहस चाहिन्छ। तर यदि यो साहस देखिएन भने, ‘नेपो वेवी’ र ‘भिक्टोरिया क्रस’ को अल्गोरिदम मा ताण्डव गर्ने सामु पुरानो पुस्ताले पार्टीलाई ऐतिहासिक रूपमा विलम्ब मात्र गराउनेछ। इतिहासले तिनै नेतालाई ‘विलम्बकारी अभिभावक’ लेख्नेछ। ६. सन्देश : सत्यको एल्गोरिदम बनाऔं, गणतन्त्र बलियो बनाऔं गणतन्त्रमा हामीले एउटा ऐतिहासिक निर्णय लिनुपर्छ आफ्नै पार्टी र देशको सन्दर्भमा। अब पुराना जागरण भेलाले काम गर्दैन। पुरानो भाषणबाजीले काम गर्दैन। डार्क रुमको एल्गोरिदमलाई उही एल्गोरिदमले मात्र चिर्न सक्छ। ‘केही भएन’ भन्ने भाष्यलाई ‘सबै परिवर्तन भइरहेको छ’ भन्ने तथ्यपूर्ण एल्गोरिदमले मात्र परास्त गर्न सक्छ। त्यसैले आजको गणतन्त्र दिवसको साँचो शुभकामना यही हो : हरेक राजनीतिक नेतृत्वले ‘अभिभावक’ को पहिरन उतारेर, हरेक पुरानो रणनीतिलाई संग्रहालयमा राखेर, उर्जाशील, प्रविधि सक्षम र ‘सत्यसँग लड्न सक्ने’ पुस्तालाई मैदान छोड्ने साहस गरोस्। यो युद्ध शान्तिको युद्ध हो सत्यको पक्षमा, राष्ट्रियताको पक्षमा, जनजीविकाको पक्षमा। यो युद्धको नेतृत्व त्यसलाई दिनुपर्छ, जसले एल्गोरिदमको भाषा बुझ्छ, जसले डार्क रुम भित्रको अन्धकार चिर्न सक्छ, जसलाई ‘गतिलो पाठ पढाउन’ आउँछ। सत्यको पक्षमा एल्गोरिदम चलाऔं। किनभने सत्यको आफ्नै गति हुन्छ, तर एल्गोरिदमको गति अत्यन्त तीव्र हुन्छ। र अब हामीले समयको गतिसँगै हिँड्नुपर्छ । हैन भने इतिहासले हामीलाई पछाडि छोडेर अगाडि बढ्नेछ। २०८३ जेठ १५, गणतन्त्र दिवसको हार्दिक शुभकामना !

(सर्वाधिकार लेखकमा सुरक्षित, लेखक शिवहरी सुवेदी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कास्की जिल्ला ईञ्चार्ज हुन् ।)