छोरेपाटन पोखराकै गर्वलायक विद्यालय

- वार्षिकोत्सवको अवसरमा रक्तदान ः २९ युनिट संकलन

-


     अन्नपूर्ण खबर     
     पौष १९ गते २०८२ मा प्रकाशित


छोरेपाटन माध्यमिक विद्यालय समग्र पोखरा क्षेत्रकै गर्वलायक शैक्षिक संस्था रहेको औँल्याइएको छ।

       विद्यालयको बिहीबार भएको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका वक्ताले उक्त कुरा औँल्याउँदै छोरेपाटनका असल अभ्यासलाई अन्य विद्यालयले पनि सिको गर्नुपर्ने जनाए।

       वार्षिकोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयलाई समग्र पोखरा क्षेत्रकै गर्व लायक शैक्षिक संस्थाको संज्ञा दिर्दै त्यसको पुष्टी विद्यालय प्रति अभिभावकको विश्वास एवम् विद्यार्थी आकर्षणले दिएको बताए।

       यो पोखराकै टपटेन भित्रको विद्यालय हो, यहाँको विद्यार्थी सङख्याले सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने भाष्य चिर्न सफल भएको छ, विज्ञान प्रदर्शनीले निरन्तरता पनि पाएको छ आचार्यले भनेः अव सबै मिलि छोरेपाटनको थप स्तरबृद्धिमा लाग्नुपर्दछ।

       प्रमुख आचार्यले पातले छागोका विषयमा विद्यालय र महानगर बीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै उक्त सम्झौता विद्यालय हितमा भएको पनि स्पष्ट पारे। सम्झौता अनुसार महानगरले वार्षिक रु.३ करोड १ लाख विद्यालयलाई उपलब्ध गराउने उल्लेख गर्दै आचार्यले उक्त रकम निसर्त भएको पनि स्पष्ट पारे।

       सो रकम प्राप्तिका लागि विद्यालयले लेटरप्याडमा खर्च शीर्षक उल्लेख गरी महानगरमा पेश भने गर्नुपर्ने उनले स्पष्ट पारे।माग फारम भरेजस्तै खर्च शीर्षक उल्लेख गरी महानगरमा पत्र पठाउनुहोस्, पत्र पाएको १ घण्टामै रकम निकासा हुन्छ, खर्चमा पारदर्शीता होस् भन्ने महानगरको चाहाना हो प्रमुख आचार्यले भने।

महानगर अभिछिन्न उत्तराधिकारी संस्था रहेको उल्लेख गर्दै प्रमुख आचार्यले अहिलेको व्यवस्था रहेसम्म सम्झौता कार्यान्वयन भइरहने प्रतिबद्धता समेत जनाए। उनले पातले छाँगोमा हाल कार्यान्वयनमा रहेको परियोजनाबारे भ्रम नपाल्न सुझाव दिर्दै शिक्षण सेवामूलक कार्य हुनुपर्ने पनि धारणा राखे।

वडाध्यक्ष राधिका शाही योगीले छोरेपाटन नमूना शैक्षिक संस्था रहेका उल्लेख गर्दै विद्यार्थी आकर्षण सबैभन्दा सबल पक्ष रहेको सुनाइन्।उनले महानगरको शिक्षा विनियम अनुसार नै छोरेपाटनमा विद्यालय व्यवस्थापन समिति गठन भएको स्पष्ट पार्दै विद्यालयले वेजुरु घटाउँदै जानुपर्ने

धारणा राखिन्।

       पूर्व वडाध्यक्ष तीर्थराज अधिकारीले विद्यालय निर्माण गर्न एकमत भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे।

       विद्यालय अध्यक्ष सागर अधिकारीले सरोकारवाला सबैलाई समेटेर लैजाने विश्वास दिलाउँदै छिट्टै विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइने उल्लेख गरे ।उनले पोखरा महानगरबाट विद्यालयलाई दिने रकम निकासामा सहजीकरण गरिदिन प्रमुख आचार्यको ध्यानाकर्षण गराए।

       प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालयले फड्को मार्दै गइरहेको औँल्याउँदै ४ वर्षमा गण्डकीकै तथा ९ वर्षमा देशकै उत्कृष्ट विद्यालय निर्माण गर्ने दीर्घकालिन योजनाका साथ हाल विद्यालय आगाडि बढिरहेको सुनाए।उनले भारतीय राजदूतावासको सहयोगमा २१ कोठे भवन निर्माण स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिर्दै विद्यालय वस, जेनेरेटर, सिसी क्यामेरा खरिद गर्दै विद्यालयलाई हरीयाली प्रदान गर्ने भावी योजना रहेको सुनाए।

त्यस अवसरमा वडा सदस्य विक्रम गुरुङ, पूर्व सदस्य देवराज आचार्य, भूपू विद्यार्थी मञ्चका अध्यक्ष सालिकराम भण्डारी, लेखाअधिकृत छविलाल पनेरु, शिक्षक भोजराज बराल, विद्यार्थीहरु रचना ढकाल, सोहन कार्की लगायतले पनि भनाइ राखे।उनीहरुले छोरेपाटन गर्व लायक शैक्षिक संस्था रहेको सुनाउँदै सरोकारवाला सबैको सद्प्रयासबाट मात्रै त्यो सम्भव भएको उल्लेख गरे।

कार्यक्रमका बीच उत्कृष्ठ शिक्षकको रुपमा लिलाप्रसाद आचार्य(विमल) र टीकाप्रसाद पौडेल सम्मानित भए ।त्यस्तै शिक्षकहरु कुमारीलक्ष्मी शर्मा, लक्ष्मण पौडेल, मनोजकुमार शर्मा, सुभासचन्द्र पौडेल, जानुका पौडेल, रन्जीता पराजुली र रियासिंह ठकुरी एवम् कर्मचारी अप्सरा रेग्मी र जमुना विक पुरस्कृत भए ।त्यस्तै आफ्नो विषयमा सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विषय शिक्षकलाई पनि सम्मान गरियो।

त्यस्तै विद्यार्थीले विभिन्न नृत्य, भजन, सचेतनामूलक नाटक लगायतका प्रस्तुति राखे भने विद्यालयको मुखपत्र ‘ज्योत्स्ना’ विमोचन समेत गरियो ।त्यस्तै कुल २९ लाख रकमका ३२ छात्रबृत्ति वितरण भए भने विज्ञान प्रदर्शनीलाई यसवर्ष पनि निरन्तरता दिइयो।त्यस्तै विद्यार्थीले मम, पानीपुरी, चटपट लगायतका खाध्यसामग्री बनाएर अतिथीलाई चखाए।

विद्यालयका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज बरालले स्वागत, शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन एवम् सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले कार्यक्रम संचालन गरे।

कुल २ हजार एक सय ६ विद्यार्थी रहेको विद्यालयमा हाल एक सय १० जना शिक्षक कर्मचारी कार्यरत छन्।

२९ युनिट रगत संकलन

विद्यालयको ४७ औं वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको कार्यक्रममा कुल २९ युनिट रगत संकलन भयो।

       कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको समन्वय तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहयो।

       वडाध्यक्ष राधिका शाही योगीले रक्तदान जीवनदान भएको उल्लेख गर्दै सबैभन्दा महत्वपूर्ण दान भएको जनाइन्।विद्यालय अध्यक्ष सागर अधिकारीले वार्षिकोत्सव अवसरमा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

       शिक्षक नायक युवराज सुवेदीले सबैको सद्भावबाट कार्यक्रम सफल भएको स्पष्ट पार्दै विद्यालयले वि.स २०६४ सालदेखि वर्षैपिच्छे रक्तदान आयोजना गर्दै आइरहेको स्मरण गरे।त्यस अवसरमा अधिकाशं पहिलो रक्तदाता, विद्यार्थी, अभिभावक, शिक्षकले दान गरे। मानवतालाई जीवित राखौं भन्ने संदेशका साथ विद्यालयले कार्यक्रम गरेको हो।

       जुनियर रेडक्रस सर्कल अध्यक्ष सुवाश सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक नायक सुवेदीले स्वागत तथा जुरेस उपाध्यक्ष सुभानी पौडेल तथा सचिव अनुष्का ढकालले कार्यक्रम संचालन गरे।