
पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कलको आयोजनामा बिहीबार विहान खुला रक्तदान कार्यक्रम हुँदैछ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको समन्वय, रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो । जसको तयारी अन्तिम चरणमा पुगेको जुनियर रेडक्रस सर्कलका शिक्षक नायक युवराज सुवेदीले जानकारी दिनुभयो ।
हालसम्म प्राविधिक पक्षको तयारी सबै सकिनुका साथै रक्तदाताको पहिचान पनि गरिएको छ । विद्यालयले पूर्व विद्यार्थी, रक्तदान गर्न मिल्ने विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीयवासी लगायत सरोकारवाला सबैसँग रक्तदानका लागि अनुरोध समेत गरेको छ ।
मानवतालाई जीवित राखौं भन्ने संदेशका साथ विद्यालयले वि.स २०६४ सालदेखि वर्षैपिच्छे रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यसपटकको रक्तदान विहान ८ः४५ बजेदेखि विद्यालयको गेट अगाडि सिद्धार्थ राजमार्गसँगै हुने उल्लेख छ।










