
पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा शुक्रबार आज कक्षा ११ तथा १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ।
जेनजी आन्दोलन ः सम्भावना र चुनौतीहरु विषयक उक्त प्रतियोगितामा कक्षा ११ का हेमन धामी प्रथम, ११ कै अञ्जली सुवेदी दोस्रो तथा कक्षा १२ का विवेक नेपाली तेस्रो हुनुभयो।प्रतियोगितामा शिक्षकत्रय लिलानाथ आचार्य(विमल), श्रीभद्र पौडेल र सुशीला कुँवरले निर्णयकको भूमिका निर्वाह गर्नुभयो ।
प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थी प्रतिभा पहिचान गर्न विद्यालय सधै प्रयासरत रहेको स्मरण गर्नुहुँदै संसार प्रस्तुतिमा अडिएको धारणा राख्नुभयो।उहाँले संस्कारयुक्त शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै अभिव्यक्ति कलाले नै मानिसलाई जीवन्त बनाउने चर्चा गर्नुभयो।
सहायक प्रधानाध्यापक खेमराज बरालले शिक्षा विना मानिस पशुतुल्य हुने धारणा राख्नुहुँदै जेनजी आन्दोलन पछिका सम्भावना र चुनौतिबारे स्पष्ट पार्नुभयो।उहाँले मानव जीवनमा अनुशासनको पाटो महत्वपूर्ण रहने पनि औंल्याउनुभयो।
खेलकूद तथा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक डिल्लीराम बरालले बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने आभाष वाक्कलाले झल्काउनुपर्ने भनाई राख्नुभयो।
कार्यक्रममा सहायक प्रधानाध्यापक मेधनाथ पौडेल, शिक्षकहरु माधव भट्टराई, लिला पराजुली, लक्ष्मण पौडेल, कुमारीलक्ष्मी शर्मा, माधव पहारी, भीम थापा लगायतको पनि उपस्थिती थियो।
विद्यालयले विद्यार्थी प्रतिभा प्रस्फुटन गराउन समयसमयमा विभिन्न अतिरिक्त एवम् सह क्रियाकलाप संचालन गर्दै आइरहेको छ।











