हिले महोत्सवबाट १ लाख ६४ हजार बचत

-


     श्रीभद्र पौडेल    
     कार्तिक ३ गते २०८२ मा प्रकाशित


पाचौं हेमजा हिले महोत्सवबाट रु.१ लाख ६४ हजार २ सय १५ बचत भएको छ।

आयोजक देवीस्थान सेवा समाजले शनिबार हेमजामा आयोजना गरेको कार्यक्रममा आय–व्यय सार्वजनिक गर्दै उक्त रकम बचत हुन आएको जानकारी दिएको हो।समाजले गत असार १५ गते हेमजामा महोत्सव गरेको थियो।

संस्थाका कोषाध्यक्ष मोहनबहादुर भण्डारीद्वारा प्रस्तुत प्रतिवेदनमा महोत्सवमा कुल ७ लाख ४५ हजार ६ सय १३ रुपैयाँ आम्दानी मध्ये खर्च कटाएर सो रकम बचत हुन आएको उल्लेख छ।

पोखरा महानगरपालिका वडा नं. २५ का का.वा अध्यक्ष सुवाश भण्डारीले विष्णुपादुका धार्मिक क्षेत्रको संरक्षण, कृषिको प्रवद्र्धन तथा हेमजाको सामाजिक सशक्तिकरणमा देवीस्थान सेवा समाजको भूमिका महत्वपूर्ण रहदै आएको बताए।

समाजका अध्यक्ष कृष्णमान् श्रेष्ठले सुरुवाति चरणमा संस्था विष्णुपादुका माईस्थान मन्दिरको संरक्षणका लागि काम गर्ने गरी स्थापना भए पनि अहिले हेमजाको समग्र विकासका लागि कार्य गरिरहेको स्पष्ट पारे।

सचिव पुष्पराज तिम्सिनाले वार्षिक प्रतिवेदनमा संस्थाले विगत वर्षमा गरेका सामाजिक, धार्मिक र विकासमुखी गतिविधिहरुका साथै आगामि योजनाबारे प्रष्ट पारे। 

उनले आगामि योजनामा समाजले कृषि जनचेतनामेलक कार्यक्रम, सिँचाइ विस्तार, सीपमूलक तालिम, विद्यालयमा सेनेटरी प्याड वितरण, सिसी क्यामरा जडान, सडक बत्ती मर्मत, सरसफाइलाई निरन्तरता, धार्मिक पर्यटन प्रवद्र्धन र “छैटौँ हेमजा हिले महोत्सव–२०८३” आयोजना गर्ने निर्णय भएको पनि सुनाए।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा पाचौँ हिले महोत्सवका सांस्कृतिक उपसमिति संयोजक बुद्धदेवी कुँवर, सल्लाहकार तथा समाजसेवी भीमप्रसाद श्रेष्ठ, विष्णुपादुका गुठी व्यवस्थापन समितिका अध्यक्ष चुडामणि तिम्सिना, महिला सञ्जाल हेमजा अध्यक्ष अप्सरा तिमिल्सिना लगायतले पनि भनाई राखे ।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष चन्द्रकला पोख्रेलले स्वागत तथा सचिव तिम्सिनाले कार्यक्रम संचालन गरे।