
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार छोरेपाटन माविका ३ जना विद्यार्थीले उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यार्थी शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले उच्चतम् ४.० जिपिए ल्याएका हुन् । विद्यालयबाट २०८१ सालमा १ जनाको पनि ४.० जिपिए आएको थियो ।
नतिजा हेर्दा छोरेपाटन माध्यमिक विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ ।
कुल १ सय ८१ जना विद्यार्थी परीक्षामा सम्मिलित भएकामा ३.६ देखि ३.९९ जिपिए ल्याउने विद्यार्थी ३४ जना छन् ।त्यस्तै ५१ जनाले ३.२ देखि ३.५९ जिपिए ल्याएका छन् । कुल १ सय ८१ मध्ये एक सय ५४ जना विद्यार्थी (८५ प्रतिशत) ग्रेडेट हुन सफल भएको सहायक प्रधानाध्यापक खेमराज बरालले जानकारी दिनुभयो ।
परीक्षामा देशभरबाट ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षासचिव चूडामणि पौडेलका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।
यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले बताए ।
नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।
छोरेपाटन स्कुल पोखरा क्षेत्रको रोजाइको स्कुलमा पर्दछ । यहाँ नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुन्छ ।
विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिनुहुँदै सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको शुभकामना दिनुभएको छ । साथै उहाँले उत्कृष्ट नतिजाको लागि हरदम क्रियाशील शिक्षक, शिक्षिका तथा अभिभावकमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।











