निर्वाचनमा बालबालिकाको प्रयोग रोकौँ

-


     अन्नपूर्ण खबर     
     माघ २४ गते २०८२ मा प्रकाशित


निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न, नगराउन ध्यानाकर्षण गराइएको छ । बालअधिकारको क्षेत्रमा कास्कीमा क्रियाशिल विभिन्न संघसंस्था तथा संजालले दलका प्रतिनिधिलाई भेटी उक्त ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी, राष्ट्रिय स्वतन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पाटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै दलका घोषणापत्रमा बालबालिकाका सवाललाई भने प्राथमिकतामा राख्न सुझाव दिए।
ध्यानाकर्षण पत्रमा बालअधिकारका लागि नागरिक समाज (बालअधिकार मञ्च), बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, गैसस महासंघ कास्की, कन्सोर्टियम नेपाल, राष्ट्रिय बाल संरक्षण संजाल, शिक्षाको लागि राष्ट्रिय अभियान, शान्तिका लागि नागरिक समाजको संजालको हस्ताक्षर छ ।
त्यस्तै महिला मानवअधिकार रक्षक संजाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालहितकारी परियोजना नेपाल, असल छिमेकी नेपाल, चिल्ड्रेन नेपाल, बहिनी एडुकेयर फाउण्डेशन, आमा मिलन केन्द्र, गोनेसा, शक्ति समूह, भ्वाइस अफ चिल्ड्रेन, नौलो बिहानी, पोखरा उद्योग वाणिज्य संघ (सामाजिक विकास केन्द्र), युनिकन, सिविन, कोपिला नेपाल, इन्सेक, कोक्याप र राइट फर चिल्ड्रेनले पनि ध्यानाकर्षण पत्रमा ऐक्यबद्धता जनाएका छन्।
पत्रमा राजनीतिक दललाई बालबालिका सम्बन्धी ऐन २०७५ र निर्वाचन आचारसंहिता २०८२ अनुसार राजनीतिक उद्देश्यले प्रयोग गर्न तथा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमामा प्रयोग गर्न गराउन निषेध गरिएको स्मरण गराइएको छ ।त्यस्तै कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि अनुरोध पनि गरिएको छ ।
पत्रमा बालअधिकार सम्बन्धका संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न र बालबालिका तथा नवयुवाका सवाललाई उचित तथा यथेष्ट रुपमा सम्बोधन गर्न आग्रह समेत गरिएको छ ।
त्यस्तै घोषणपत्रमा बालअधिकारको संरक्षण, सम्मान, संवर्धन र प्रवद्र्धनका विषयलाई उच्च प्राथमिकतामा राख्न अनुरोध गर्दै २५ बुँदे सुझाव समेत पेश गरिएको बालहितकारी परियोजना नेपालकी प्रतिनिधी संगीता भण्डारीले बताइन्।