
छोरेपाटन माध्यमिक विद्यालय प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ ।लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटनले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह सी बाट सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो।
योसँगै छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो ।यसअघि समूह डी बाट बालमन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ।
बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो।टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १६.४ ओभरमा सबै विकेट गुमाएर ८३ रनको मध्यम स्तरको योगफल तयार गरेको थियो। छोरेपाटनका लागि अनिष थापाले ११ बलमा १८ रन, उज्वल पौडेलले २९ बलमा १६ रन र सोहन आचार्यले २२ बलमा १३ रनको योगदान दिए।
छोरेपाटनलाई दवाबमा राख्ने क्रममा टप्सका विपिन शर्माले ३ ओभरमा २० रन खर्चेर ३ विकेट, शिव सुवेदीले ३.४ ओभरमा १६ रन खर्चेर २ विकेट तथा सौरव तिमिल्सिनाले ३ ओभरमा १५ रन खर्चेर २ विकेट हत्याए।
८४ रनको मध्यम लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स मावि ९.५ ओभरमा सबै विकेट गुमाएर ४९ रनमा समेटियो। छोरेपाटनका बलरहरु सामु टप्सका व्ययाट्स म्यानहरु निरीह बनेका थिए । छोरेपाटनका खेलाडीको कसिलो बलिङका बाबजुद शिव सुवेदीले २३ बलमा १० रन र संयोग तिवारीले १० बलमा ९ रन बनाएका थिए । अन्य खेलाडीको व्याट नचल्दा टप्स पहिलो चरणबाटै बाहिरिन पर्यो। यद्यपी टप्सले सान्त्वना जीतका लागि माघ २३ गते कुमुदिनी होम्ससँग प्रतिष्पर्धा गर्नेछ।
बुधबारको खेलमा टप्सलाई सस्तैमा समेट्न छोरेपाटनका किशोर थापाले २.५ ओभरमा १५ रन खर्चेर ५ विकेट, किस्मत पौडेलले २ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ३ ओभरमा ४ रन खर्चेर १ विकेट हत्याए।
सो खेलमा छोरेपाटनका ५ विकेटधारी किशोर थापा प्लेयर अफ द म्याच घोषित भए।
बुधबार भएको समूह डी को अन्तिम खेलमा डायमण्डले सान्त्वना जित हात पार्यो।यस समूहबाट बालमन्दिर मावि दुई खेल जित्दै समूह बिजेता बनेर सेमीफाइनलमा प्रवेश गरिसकेको छ। बुधबारको प्रतिष्ठाको खेलमा डायमण्डले ग्लोबल कलेजियटलाई २ रनको झिनो अन्तरले पराजित गर्यो।
टस जितेर ब्याटिङ रोजेको डायमण्डले १५.५ ओभरमा सबै विकेट गुमाएर ९६ रनको मध्यम स्तरको योगफल बनाएको थियो ।डायमण्डका लागि मिलन पौडेलले १६ बलमा १९ रन र शिशिर नेपालले १८ बलमा ११ रनको योगदान दिए ।डायमण्डलाई ग्लोबलका आयुष्मान गौतमले ४ ओभरमा एक मेडनसहित ७ रन खर्चेर ३ विकेट, विमोचन सापकोटाले ४ ओभरमै २९ रन खर्चेर २ विकेट र कविर खत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट हत्याए।
९७ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको ग्लोबल कलेजियटले ९४ रन मात्रै बनाउन सक्यो ।ग्लोबलका लागि स्मिथ रानाभाटले ४० बल सामना गरेर २३ र विमोचन सापकोटाले १६ बलमा २० रन बनाए । ग्लोबललाई दवाबमा राख्न डायमण्डका शिशिर नेपालले १.४ ओभरमा ७ रन खर्चेर २ तथा सिजन सापकोटाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।खेलमा डायमण्डका शिशिर नेपाल प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा गुरुकुल विद्या सदन मावि बिरुद्ध जनप्रिय मावि तथा दोस्रो खेलमा आयोजक प्रतिभा मावि बिरुद्ध नेपाल भारत मैत्री विद्यालय प्रतिष्पर्धामा उत्रिनेछन्।











