
अभिभावक साथी जस्तो बन्नुपर्नेमा जोड दिइएको छ ।नेलम्बो नेपाल पोखरा–४, गैह्रापाटनको आयोजनामा आइतबार भएको अन्तरक्रियाका वक्ताले उक्त कुरा औँल्याएका हुन्।
उनीहरुले अभिभावकले बच्चालाई साथीको जस्तो व्यवहार गर्नुपर्ने भन्दै त्यसले नै बच्चालाई सही मार्गमा लैजाने धारणा राखे।बच्चासँग नजिक रहेर, उनीहरुका आँखामा आँखा जुधाएर, मायालु भावका साथ अभिभावकले कुरा गर्नुपर्दछ, त्यसबाट नै बच्चाको व्यक्तित्व विकास हुन्छ, संस्थाद्वारा संचालित शिशु स्याहार परामर्श तथा विकास परियोजनाका कार्यक्रम अधिकृत मनिषा अधिकारीले भनिन्।
अधिकारीले जन्मेको ३ वर्षभित्रमा बच्चाको ८० प्रतिशत मतिष्क विकास हुने भन्दै उक्त वेला अत्यन्तै संवेदनशील भएको पनि सुनाइन्।सो वेला १ सेकेन्डको समयमा करिव १० लाख मतिष्कका तार निस्कन्छन्, ति तारको विकास नै मानिसको मनस्थीति निर्धारण गर्ने प्रमुख भूमिकामा रहन्छन् अधिकृत अधिकारी उल्लेख गरिन्।
बच्चाले मोवाइल अत्याधिक चलाउनु हानीकारक भएको धारणा राख्दै अधिकृत अधिकारीले त्यसले मतिष्क प्रशोधनमा नै असर पर्ने अनुभव राखिन्।बच्चा पेटमा भएदेखि नै उसँग कुराकानी गर्ने क्षमता अभिभावकले राख्नुपर्दछ, पाकाको तुलनामा बच्चामा तनावको फैलावट तीब्र हुन्छ अधिकारीले भनिन् ः त्यसैले बुबाआमा बनेर मात्र हुँदैन, उनीहरुका लागि असल साथी बन्नुपर्दछ।
नदीपुर स्थित फूलबारी मन्टेश्वरीका संचालक जीवनकुमार श्रेष्ठले बच्चाको बृद्धि विकासका लागि गर्भदेखिकै वातावरण महत्वपूर्ण हुने भन्दै बालबालिकाको खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।उनले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिन सके देशनै सुसस्कृतयुक्त बन्ने औँल्याए।
नेलम्बो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत समिका बस्नेतले ९ वर्षदेखि संस्थाले विभिन्न परियोजना संचालन गर्दै आइरहेको उल्लेख गर्दै विशेष गरी शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा संस्था क्रियाशिल रहेको स्पष्ट पारिन्।वस्नेतले विपन्न समुदायका मानिसको जीवनस्तर उकास्नु संस्थाको एक मात्र लक्ष्य रहेको भनाई राख्दै संस्थाले उपलब्ध गराउने सेवा निःशुल्क दिइदै आएका जनाइन्।
सहभागि श्यामकुमारी परियारले नेलम्बोद्वारा संचालित विभिन्न परियोजना मार्फत आफू लाभान्वित भएको उल्लेख गर्दै आफ्नो अन्धकारमय जीवन नेलम्बोकै कारण उज्यालोतर्फ प्रवेश गरेको अनुभव राखिन् ।
अर्का सहभागि किरण दासले शिशु स्याहार परामर्श तथा विकास परियोजना बालबच्चा हुर्काउदाँको साहारा भएको उल्लेख गर्दै आमाबुबालाई जिम्मेवार अभिभावक बन्न सुझाइन्।
कार्यक्रममा पोखरा क्षेत्रका महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न विद्यालय एवम् मन्टेश्वरीका संचालक एवम् शिक्षक लगायतको सहभागिता रहयो।
उनीहरुले वच्चाको लगानी १३ गुणासम्म फाइदाजनक हुने, गर्भावस्थाबाटै मतिष्कको विकास हुने, विरुवालाई मलजल एवम् गोलमेल गरेजस्तै बालबालिकालाई पनि उचित स्याहारसंरक्षण गर्नुपर्ने, सुन्तुलित पौष्टिक आहार खुवाउनुपर्ने, गहिरो निन्द्राबाट उठाउन नहुने, मोवाइल धेरै चलाउदाँ बच्चामा भाषिक समस्या आउन सक्नेतर्फ सचेत गराए।
नेलम्बोले ३ वर्षदेखि शिशु स्याहार परामर्श तथा विकास परियोजना संचालन गर्दै आएको छ ।जसमार्फत बालबालिकाको नियमित पालनपोषण, स्याहार, विकास र संरक्षणको बारेमा सम्बन्धित अभिभावक र उनीहरुका संरक्षकलाई परामर्श सेवा प्रदान गर्ने गरिन्छ।त्यस्तै शिशु जन्मनुपूर्व र जन्मेपछि तिनीहरुको उचित स्याहार, पालनपोषण, शिक्षा तथा हकअधिकार बारे अभिभावकलाई जानकारी दिइने पनि गरिन्छ ।
संस्थाले विशेष गरी स्तनपान, पोषण, सुताई, विकास, हेरचाह, स्वास्थ्य, सिफारिस, अभिभावकत्व शिक्षा र अभिभावक परामर्शका क्षेत्रमा कार्य गर्दै आइरहेको छ।
नेलम्बो अध्यक्ष एकदेव देवकोटाको अध्यक्षतामा भएको अन्तरक्रिया, कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले संचालन गरे।











