प्रथम विष्णुपादुका महिला फुटबल प्रतियोगिताको तयारी पुरा

-


     श्रीभद्र पौडेल    
     पौष ३० गते २०८२ मा प्रकाशित


विष्णुपादुका क्लवको आयोजनामा हेमजामा भोलीदेखि प्रथम विष्णुपादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता हुँदैछ।
माघ ३ गतेसम्म संचालन हुने सो प्रतियोगितामा आयोजक विष्णुपादुका क्लव सहित हेमजा युनाईटेड, ए एफ एन ललितपुर, एन्फा गोरखा, एसबी स्पोर्टस् नवलपुर, बागलुङ स्पोर्टस् क्लब, म्याग्दी फुटबल संघ तथा पृथ्वीनारायण क्याम्पसको गरी ८ समूहले प्रतिष्पर्धा गर्नेछन्।
‘स्वास्थ्य र सद्भावका लागि खेलकुद’ नाराका साथ हुने उक्त प्रतियोगितामा विजेता समूहले रु.५० हजार, उपविजेता समूहले रु.२५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्।
त्यस्तै सेमीफाइनल प्रवेश गर्ने समूहलाई रु.१० हजार प्रदान गरिने छ।सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड तथा सर्वाधिक गोलकर्तालाई समान रु.२ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार व्यवस्था गरिएको क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।प्रतियोगिता सम्पन्न गर्न क्लवका पूर्व अध्यक्ष जगत थापाको संयोजकत्वमा समिति गठन गरी तयारीलाई पुरा गरिएको छ।