महिलालाई आत्मनिर्भर बनाउँदै धारापानी सहकारी

-


     श्रीभद्र पौडेल    
     पौष २९ गते २०८२ मा प्रकाशित


पोखरा–५, पस्र्याङ स्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
सभाका वक्ताले महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको औँल्याएका छन्।उनीहरुले महिला स्वाभलम्बनको उद्देश्यले स्थापना भएको सहकारी क्रमशः सफल बन्दै गएको पनि जनाए।
जिल्ला सहकारी संघ कास्कीका सदस्य चन्द्रावती गैह्रे अधिकारीले महिलाले नेतृत्व गरेका संस्थाहरु तुलनात्मक रुपमा सफल हुने गरेका दावी गर्दै त्यसको पछिल्लो उदाहरण धारापानी सहकारी भएको बताइन्।यसमा नेतृत्व मात्रै होइन सम्पूर्ण सदस्य महिलादिदीबहिनी छन्, उनीहरुकै अग्रसरताले संस्था अगाडि बढेको छ, त्यसमाथि सहकारीले मन्टेसरी पनि संचालन गरिरहेको छ, त्यहाँ पनि महिला मात्रै कर्मचारी कार्यरत छन् उनले भनिन्ः–‘सम्पूर्ण गतिविधि महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रीत छन् सहकारीका’।
कार्यपालिका सदस्य हरीमाया विश्वकर्माले आत्मसम्मान सबैभन्दा ठूला कुरा हुने स्पष्ट पार्दै सहकारी मार्फत धारापानी क्षेत्रका महिलाहरु आत्मनिर्भर बन्दै गइरहेकोमा खुशी व्यक्त गरिन्।उनले सहकारी मार्फत पुँजी परिचालन गरी स्वःरोजगारको बाटोतर्फ महिला दिदीबहिनीहरु अग्रसर भएको जनाउँदै त्यसले नै उनीहरुलाई आत्मनिर्भर बनाउने स्पष्ट पारिन्। सहकारीको काम दिदीबहिनीलाई स्वाभलम्बनको भोक जागाउने हो, उनले भनिन् त्यसमा धारापानी सहकारी क्रमशः सफल हुँदै गइरहेको छ।
धारापानी टोल विकास संस्था ‘ख’ का अध्यक्ष हरीश्चन्द्र अधिकारीले सहकारी तथा मन्टेसरीले फड्को मार्दै गइहेको छ भन्दै कतिपय विमती भए त्यसलाई आपसी समझदारीमा टुङगाउनुपर्ने धारणा राखे ।उनले संस्थाले मन्टेसरी संचालन गर्ने आँट गरेकोमा खुशी व्यक्त गरे।
धारापानी चौतारी टोल विकास संस्थाका अध्यक्ष तिलमाया सुवेदी भण्डारीले महिला आत्मनिर्भर बनाउन सहकारीले तरकारीका वेर्ना उत्पादन गर्ने गरेकोमा खुशी व्यक्त गर्दै, महिला चुल्हो चौकोबाट मुक्त गरी ससक्त बनाउन सहकारीले खेलेको भूमिकाको प्रशम्सा गरिन्।
धारापानी पशुपालक कृषि सहकारीका अध्यक्ष शोभाखर अधिकारी तथा पस्र्याङ ठूलीपोखरी आमा समूह अध्यक्ष पवित्रा उपाध्यायले सहकारी मार्फत स्वःरोजगारको बाटोमा महिलादिदीबहिनी अग्रसर बनेको चर्चा गर्दै सहकारीमा अझ धेरै महिलालाई आबद्ध गराउनुपर्ने धारणा राखे।
सहकारी अध्यक्ष गीतादेवी पौडेलले सरोकारवाला सबैको सद्भावबाट हाल संस्था संचालन भइरहेको सुनाउँदै अझ धेरै गर्न बाँकी रहेको औँल्याइन्।
कार्यक्रममा बीच सहकारी अध्यक्ष पौडेल, कोषाध्यक्ष सुजता सापकोटा, लेखा संयोजक मैयाँकुमारी भूर्तेल अधिकारी, धारापानी मन्टेसरीका अध्यक्ष कमला अधिकारी त्रिपाठीद्वारा प्रस्तुत प्रतिवेदन छलफल सहित अनुमोदन भयो।
त्यस अवसरमा असल कर्मचारीका रुपमा व्यवस्थापक कल्पना विक, जेष्ठ सदस्य लक्ष्मीप्रसाद कोइराला, गाले सुनार, मित्रलाल सुवेदी, कक्षा १२ उत्तीर्ण शेयर सदस्यका छोराछोरीहरु उत्सव भट्टराई, सुदर्शन विक, वैठकमा धेरै उपस्थित हुने सहकोषाध्यक्ष इन्दिरादेवी शर्मा, समयमा उपस्थित हुने कविता विक लगायतलाई सम्मान गरियो ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष शारदा गिरीले स्वागत तथा सचिव शारदा भट्टराईले कार्यक्रम संचालन गरिन्।
वि.स २०७५ मा स्थापित सहकारीले हाल धारापानी मन्टेसरी पनि संचालन गरेको छ ।जसमा प्रि नर्सरीदेखि १ कक्षासम्म पढाइ हुँदै आएकोमा हाल ७० विद्यार्थी तथा ९ जना शिक्षक कर्मचारी कार्यरत छन्।
त्यसका साथै सहकारीले महिलालाई आत्मनिर्भर बनाउन समयसमयमा विभिन्न किसिमका तालिम दिने गरेको छ भने आत्मनिर्भरतालाई सहयोग पुग्ने गरी ऋण प्रवाह समेत गर्ने गरेको छ।