
अन्नपूर्ण गाउँपालिकामा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।अन्नपूर्ण फुटबल एकेडेमीको आयोजनामा आगामि माघ १६ र १७ गते उक्त प्रतियोगिताको तयारी गरिएको हो ।
एकेडेमी (AFA) ले जरा तहको फुटबल विकासलाई प्राथमिकतामा राख्दै विभिन्न प्रशिक्षण तथा प्रतियोगितामार्फत स्थानीय प्रतिभा उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ।
“Shaping Local Players into Pros: Through Discipline and Sportsmanship” भन्ने मूल नाराका साथ एकेडेमीले अनुशासन, खेलभावना र निरन्तर अभ्यासलाई केन्द्रमा राखेको छ। एकेडेमीले विद्यार्थी खेलाडीहरूको शारीरिक तथा बौद्धिक विकासमा जोड दिँदै जरा तहको फुटबलको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रतिभावान खेलाडीहरूको पहिचान गरी नियमित प्रशिक्षणमार्फत भविष्यका राष्ट्रिय तथा व्यावसायिक खेलाडी उत्पादन गर्नु एकेडेमीको उद्देश्य रहेको छ। यसै सन्दर्भमा एकेडेमीको आयोजनामा अन्नपूर्ण गाउँपालिका अन्तर विद्यालय ‘७ ए साइड’ फुटबल च्याम्पियनसिप माघ १६ र १७ गते माछापुच्छ्रे मा.विको खेल मैदानमा सञ्चालन हुने भएको छ।
प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रम सफल बनाउन एकेडेमीले आर्थिक सहयोग, स्वयंसेवक, खेल सामग्री, औषधि, खाना, पानी तथा स्टेशनरी सहयोगका लागि खेलप्रेमी, अभिभावक र सहयोगी संस्थाहरूलाई आह्वान गरेको छ।
साथै, अभियानलाई व्यापक बनाउन सूचना प्रसारमा समेत सहयोग गर्न अनुरोध गरिएको छ। स्थानीय स्तरका खेलाडीलाई अनुशासन र खेलभावनामार्फत व्यावसायिक खेलाडीमा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढिरहेको अन्नपूर्ण फुटबल एकेडेमीले नेपाली फुटबलको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ।











