पञ्चासेमा बाला चतुर्दशी मेला सम्पन्न

-


     हरिराम भण्डारी    
     मंसिर ७ गते २०८२ मा प्रकाशित


पञ्चासेमा बाला चतुर्दशी मेला २०८२ सम्पन्न भएको छ । कास्की, पर्वत तथा स्याङ्जा जिल्लाको सीमानामा पर्ने ऐतिहासिक महत्व भएको पञ्चासे तीर्थस्थलको रुपमा विकास भएको छ ।

त्यहाँको दर्शन गरेपछि बल्ल मुक्तिनाथ लगायतका चार धाम जान सकिने जनविश्वास रहदै आएको छ । दम्पति गई वाला चतुर्दशी मेलामा पञ्चासे परिसरमा घरको आकार बनाई सतविज छर्ने चलन छ । पञ्चासे सरोवर, पंचायन, सिद्ध बाबा मन्दिरसम्मको कुल २ हजार ५ सय १७ मिटर उचाइमा पुगेर सतबीज छर्नुको मज्जा नै बेग्लै हुने दर्शन गर्न स्याङ्जा देखि पञ्चासे पुग्नुभएका आज्ञाराम पौडेलले बताउनुभयो ।

 यस वर्ष मौसम राम्रो भएकोले हिमाल खुलेको हुनाले श्रद्धालु भक्तजनहरुमा निकै खुसी छाएको पर्वत आर्थरका पूर्णमान गुरुङको भनाई छ ।

 श्रद्धालु भक्तजनहरुको भीड लाग्ने भएपनि आजकल युवा युवतीको चाप समेत सो क्षेत्रमा बढेको छ । वर्ष भरी पूजा, सरसफाइ, मर्मत सम्भार गर्नुपर्ने भएकोले दर्शनार्थीले स्वःस्फूर्त दान दिने गर्नुभएको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष दिलबहादुर भट्टराईले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले टाकुरामा पानी अभाव भएको सुनाउँनु हुँदै त्यसको समाधानका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।