
पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आज यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना दिइएको छ।
नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा भएको उक्त सचेतनामा कक्षा ११ तथा १२ का विद्यार्थी तथा केही शिक्षक सहभागि हुनुभयो।
कार्यक्रममा धारणा राख्नुहुँदै वडाध्यक्ष राधिकाकुमारी शाहीले कानुनले २० वर्ष पछिको बिहेलाई मात्रै मान्यता दिएको जानकारी गराउनुहुँदै परिवार नियोजन संघ कास्कीका गतिविधि प्रशम्सा योग्य रहेको बताउनुभयो ।उहाँले किशोरावस्थामा आएका परिवर्तनबारे अभिभावकलाई समयमै जानकारी गराउने सवालमा नलजाउन विद्यार्थीलाई सुझाव दिनुहुँदै असुरक्षित यौनसम्पर्क मार्फत प्राणघातक रोग लाग्न सक्नेतर्फ सचेत गराउनुभयो।
वडाध्यक्ष शाहीले गण्डकी प्रदेशको पछिल्लो तथ्याङकले छोरीको भु्रण हत्या बढ्दै गएकोमा दुःख व्यक्त गर्नुहुँदै जसकारण आगामि दिनमा बिहे गर्दा केटी नपाउने सम्भावना बढ्दै गइरहेको औँल्याउनुभयो।छोराछोरी बराबरी मान्यतालाई समाजमा स्थापित गराउनुपर्ने उहाँको तर्क छ।
प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीका स्वास्थ्य समस्याप्रति विद्यालय चनाखो रहेको स्पष्ट पार्नुहुँदै हेर्दा सामान्य लागेपनि प्रजनन स्वास्थ्यको विषय गम्भिर भएको उल्लेख गर्नुभयो ।उहाँले परिवार नियोजन संघ तथा सहभागि विद्यार्थीको सहयोगमा विद्यालयका अन्य विद्यार्थीलाई पनि सो सम्बन्धी सचेतना दिन प्रयास गरिने भनाई पनि राख्नुभयो।
संघ सभापति नविन सिग्देलले अभियानको ५ औं कार्यक्रम अन्तर्गत छोरपाटन माध्यमिक विद्यालय पुगेको उल्लेख गर्नुहुँदै किशोरावस्थामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना अत्यावश्यक भएको औँल्याउनुभयो।उहाँले पोखरा महानगरका १६ तथा छिमेकी ४ गाउँपालिकाका ८ विद्यालय गरी कुल २४ शैक्षिक संस्थामा सचेतना दिइने स्पष्ट पनि पार्नुभयो।
त्यस अवसरमा नेपाल परिवार नियोजन संघ कास्की कोषाध्यक्ष विष्णुप्रसाद दाहाल, वरिष्ठ प्रशिक्षक नवराज तिवारी लगायतले सहजीकरण गर्नुभयोे।उहाँहरुले यौनिक व्यवहार, यौनिक हिंसा, जीवन उपयोगी सीप लगायतका विषयमा जानकारी दिनुभयो।
कार्यक्रममा सहायक प्रधानाध्यापकद्वय खेमराज बराल र मेघनाथ पौडेल, कर्मचारी अनिष पहारी लगायतले व्यवस्थापकीय सहयोग गर्नुभयो।
संघ अध्यक्ष सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रम संघका वरिष्ठ प्रशिक्षक तिवारीले संचालन गर्नुभयो।









