जनसेवा आधारभूतको भवन शिलान्यास

-


     श्रीभद्र पौडेल    
     कार्तिक ११ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका–१०, फुलिवाङ स्थित जनसेवा आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको छ।

अन्नपूर्ण गाउँपालिका तथा पाहार ट्रष्ट नेपालको साझेदारीमा रु.४० लाखको लागतमा बन्न लागेको उक्त भवनको सोमबार आयोजित एक समारोहका बीच शिलान्यास गरिएको हो।लागत मध्ये संस्थाको तर्फबाट रु.२८ लाख तथा गाउँपालिकाले १२ लाख बोहोर्ने उल्लेख छ।

भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सहयोगी ट्रष्टप्रति आभार प्रकट गर्दै शिक्षा विना मानिस पशुतुल्य हुने बताए।उनले गाउँपालिकाले शिक्षालाई महत्व दिएको उल्लेख गर्दै त्यसको झल्को गत सालको एसइई नतिजाले पनि दिएको स्मरण गरे।

पाहार ट्रष्टका अध्यक्ष विजुलीप्रसाद गुरुङले विद्यालय निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणसँगै शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुग्ने विश्वास प्रकट गरे।

वडाध्यक्ष गौतम गुरुङले शिक्षा विकासमा पाहार ट्रष्टको भूमिका उल्लेखनिय रहेको जनाउँदै शिक्षा प्राप्तिसँगै जीवन सहजतातर्फ प्रवेश गर्ने स्पष्ट पारे।

विद्यालय अध्यक्ष तेजकुमारी विकले सहयोगदाता संस्था तथा गाउँपालिका दुवैप्रति आभार प्रकट गर्दै समय भित्रै भवन निर्माण सम्पन्न हुने विश्वास लिइन्।उनले ३ कोठे भवन बन्न लागेको पनि बताइन् ।

प्रधानाध्यापक अनिता विक तथा सहयोगी संस्थाको तर्फबाट एन्थोनी थोमसले भवन निर्माणसँगै शैक्षिक क्रियाकलापमा सहजता थपिने औँल्याए।

विद्यालय अध्यक्ष विकको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक विष्णुकुमारी विकले संचालन गरिन्।