
हेमजा स्थित गौरीशंकर बहुमुखी क्याम्पसलाई विशिष्टीकृत शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिइएको छ।
शनिबार भएको क्याम्पसको ३२ औं साधारणसभाका वक्ताले उक्त कुरामा जोड दिर्दै विशिष्टीकृत शैक्षिक संस्था निर्माण गर्न सके गौरीशंकरको भविष्य सुदीर्घ रहने चर्चा गरे।
पूर्व शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले गौरीशंकरमा विषय विविधिकरणमा जोड दिर्दै परिवर्तित सोच अनुसारका विषयलाई समेट्दै जानुपर्ने उल्लेख गरे।फरक नतिजा ल्याऔँ, त्यसका लागि फरक कार्यशैली अवलम्बन पनि गरौं, त्यसपछि क्याम्पसमा विद्यार्थी कमी हुने कारण नै नआउने उनको तर्क छ।उनले आवश्यकता र शैक्षिक आकांक्षा बीच तालमेल मिलाउनुपर्नेमा जोड समेत दिए।
शिक्षा विभागका पूर्व निर्देशक बाबुराम पौडेलले नेतृत्व समर्पित भएर लागे जुनसुकै संस्था पनि राम्रोसँग संचालन हुने स्पष्ट पार्दै यतिवेला गौरीशंकरले सरोकारवाला सबैको साथ खोजिरहेको धारणा राखे ।नेपालमा सार्वजनिक क्षेत्र उपेक्षित हुनु दुर्भाग्य भएको जनाउँदै पौडेलले देशभरकै शैक्षिक संस्थामा विद्यार्थी संङख्यामा कमी आइरहेकोतर्फ सचेत पनि गराए।
कार्यवहाक वडाध्यक्ष सुवाश भण्डारीले गौरीशंकरलाई नमूना क्याम्पस बनाउन लाग्नुपर्नेमा जोड दिए।उनले क्याम्पसले यातायात संचालन गरेको खण्डमा वडाले इन्धन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा सल्लाहकारद्वय शोभाकर तिम्सिना र मधुसुदन त्रिपाठी, पूर्व सदस्यहरु चुडामणि तिम्सिना, गोपाल गिरी र भीमप्रसाद श्रेष्ठ, वडा महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीना, विशिष्ट सदस्य दिनेशकुमार लामिछाने लगायतले पनि भनाई राखे।
उनीहरुले सबै मिली क्याम्पस जोगाउन लाग्नुपर्ने, समय सन्दर्भका विषयहरु समेट्दै जानुपर्ने, सिनेटर अभियानलाई सफल बनाउनुपर्ने, सबै जिम्मेवार बन्नुपर्ने लगायत सुझाए।
क्याम्पस संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले दिगो रुपमा क्याम्पस संचालन गर्न सिमेटर अभियानको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा पूर्वाधार निर्माणतर्फ बढी ध्यान दिएको सुनाए।
क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सबैको सद्भावका कारण क्याम्पस संचालन भइरहेको सुनाउँदै हालसम्म एक सय ६० जना सिनेटर सदस्य बनिसकेको जानकारी दिए ।उनले क्याम्पस क्युएए प्राप्ति प्रक्रियामा अगाडि बढेको स्पष्ट पार्दै त्यसका लागि स्नातकमा भर्नादर बढाउनुपर्ने औँल्याए।
सभाले क्याम्पस प्रमुख पौडेलद्वारा प्रस्तुत प्रतिवेदन छलफल सहित अनुमोदन गर्यो।त्यस्तै विधान संशोसनसम्मका लागि वर्तमान् संचालक समितिलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय पनि भयो।
संचालक समिति अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रमा त्रिपाठीले स्वागत तथा सहायक प्राध्यापक सुरेन्द्रबहादुर कुँवरले कार्यक्रम संचालन गरे।










