
पोखरा–१८,सराङकोटधाममा आज फूलपाती भित्र्याइएको छ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति तथा वडा कार्यालयको संयुक्त आयोजनामा त्यहाँ फूलपाती भित्र्याइएको (बढाइँ गरिएको) हो।त्यस अवसरमा युद्धकला सम्बन्धी लोपोन्मुख सरुन खेल(२२ जनाको समूहले) पनि प्रदर्शन गरियो।
बढाइँ अन्र्तगत गोठादीबाट फूलपाती ल्याई चण्डी मन्दिर, सराङकोट बजार हुँदै सराङकोटधाम स्थित भैरव तथा भुमेकालिकाको परिक्रमा गराई बाजागाजा, डोली सहित भुमेकालिका मन्दिरमा फूलपाती भित्र्याइएका छ ।त्यस अवसरमा पण्डितद्वय बाबुराम पहारी र कृष्ण पहारीले विशेष पूजा गरे भने फूलपाती भित्र्याउन मगर समुदायले उल्लेख्य भूमिका निर्वाह गरे।
कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धर्म संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको औँल्याउँदै फूलपाती बढाइँ कार्यक्रमले सराङकोटवासी एक छन् भन्ने संदेश पनि दिएको बताए ।
वडा सदस्य कल्पना ढकाल क्षेत्रीले सरुन खेलको प्रवद्र्धन गर्न वडा कार्यालय तयार रहेको स्पष्ट पार्दै धर्म संस्कृतिका सवल पक्षलाई अबलम्बन गर्दै जानुपर्ने बताइन् ।कार्यक्रममा पोखरा ६ का सदस्य दीपेन्द्र पहारीको पनि उपस्थिती रहयो।
सरुन कौशल करिव ७ सय वर्ष पुरानो मानिन्छ। त्यहाँ शाहबंशीय राजा कुलमण्डलको पालादेखि सरुन प्रदर्शन गर्न थालिएकोमा करिव १ शताब्दी अघिदेखि छाडिएको थियो ।जसलाई वडा कार्यालय तथा समितिको संक्रियतामा गत वर्षदेखि निरन्तरता दिइएको हो।

सराङकोटमा विशेष गरी गोठादी क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मन्दिरभित्रको कर्ता बस्ने , ब्राह्मण पहारीहरुले पूजा गर्ने, क्षत्री समुदायले सुरक्षाको जिम्मेवारी सम्हाल्ने परम्परा छ।त्यस्तै परियार समुदायले पूजामा बाजा बजाउने, विश्वकर्मा समुदायले हतियार निर्माण गर्ने, जैसी ब्राह्मणहरुले पूजा व्यवस्थापन र प्रसाद निर्माण गर्ने तथा नेपाली समुदायले पूजा स्थल निर्माण गर्ने कार्यमा योगदान पु¥याउँदै आएका छन्।
फूलपाती बढाइँसँगै नेपालको ऐतिहासिक संस्कृति संरक्षणमा समेत योगदान पुगेको समिति अध्यक्ष प्रेमबहादुर जिसीको भनाई छ।
नेपालको संस्कृति तथा परम्परा सबै जातिभन्दा पनि माथि रहेको ठहर गर्दै त्यहाँ सरुन खेलमार्फत युवापुस्तालाई धार्मिक पर्यटनसँग जोडी सराङकोटको पहिचान विश्वमाँझ थप परिचित गराउने लक्ष्य पनि राखिएको छ ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष मीनबहादुर थापाले स्वागत तथा सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरे।
सराङकोट कुलमण्डल शाहको पालामा हतियार भण्डारण क्षेत्रको रुपमा समेत परिचित थियो।










