ढिकुरपोखरी रक्तदानमा ३० युनिट संकलन

- बाबाःछोरा, श्रीमानःश्रीमतीले सँगसँगै गरे रक्तदान

-


     श्रीभद्र पौडेल    
     असाेज १२ गते २०८२ मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटीे अन्नपूर्ण १,२,३ (ढिकुरपोखरी) उपशाखाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा कुल ३० युनिट संकलन भयो।
पहिलो रक्तदाता अन्नपूर्ण ३ निवासी चिरञ्जीवी पौडेललाई गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरियो।
त्यस अवसरमा भनाई राख्दै अध्यक्ष केसीले रक्तदान जीवनदान भएको उल्लेख गरे।उनले ढिकुरपोखरी उपशाखाले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै देश विकासमा सामाजिक भावना अपरिहार्य रहेको चर्चा गरे।
उपशाखा सभापति नारायणप्रसाद भण्डारीले रक्तदान गर्ने तथा कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्दै स्वस्थ जीवनका लागि रक्तदान आवश्यक रहेको औँल्याए।उनले चाडपर्वको समयमा हुने रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको स्पष्ट पारे।
कार्यक्रमका बीच फणीन्द्रराज सुवेदी र सुजन सुवेदी (बाबा, छोरा), गणेश भण्डारी र कोपिला भण्डारी (श्रीमान, श्रीमती)ले सँगसँगै रक्तदान गरे।त्यस्तै अमृता पौडेलले सबैभन्दा बढी ६ पटक तथा
सरोज थापा, संगम सुवेदी, गोमा अधिकारी र कमला केसीको रक्तदान अनुभव पहिलो रहयो।
उपशाखा सभापति भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम उपशाखा सचिव दिलबहादुर जिसीले संचालन गरे।