
पोखरा–१८,सराङकोटधाममा यसवर्ष पनि फूलपाती बढाइ गरिने भएको छ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति तथा वडा कार्यालयको संयुक्त आयोजनामा त्यहाँ फूलपाती बढाइ गर्न लागिएको हो।त्यस अवसरमा युद्धकला सम्बन्धी लोपोन्मुख सरुन खेल पनि प्रदर्शन गरिने समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।
बढाई अन्र्तगत गोठादीबाट फूलपाती ल्याई चण्डी मन्दिर हुँदै सराङकोटधाम स्थित भैरव तथा भुमेकालिकाको परिक्रमा गराई बाजागाजा, डोली सहित भुमेकालिका मन्दिरमा फूलपाती भित्राउने कार्यक्रम छ ।त्यस अवसरमा विशेष पूजा पनि हुनेछ भने फूलपाती भित्राउन मगर समुदायको उल्लेख्य भूमिका रहनेछ।
सरुन कौशल करिव ७ सय वर्ष पुरानो मानिन्छ। त्यहाँ शाहबंशीय राजा कुलमण्डलको पालादेखि सरुन प्रदर्शन गर्न थालिएकोमा करिव १ शताब्दी अघिदेखि छाडिएको थियो ।जसलाई वडा कार्यालय तथा समितिको संक्रियतामा गत वर्षदेखि निरन्तरता दिइएको हो।
सराङकोटमा विशेष गरी गोठादी क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मन्दिरभित्रको कर्ता बस्ने , ब्राह्मण पहारीहरुले पूजा गर्ने, क्षत्री समुदायले सुरक्षाको जिम्मेवारी सम्हाल्ने परम्परा छ।त्यस्तै परियार समुदायले पूजामा बाजा बजाउने, विश्वकर्मा समुदायले हतियार निर्माण गर्ने, जैसी ब्राह्मणहरुले पूजा व्यवस्थापन र प्रसाद निर्माण गर्ने तथा नेपाली समुदायले पूजा स्थल निर्माण गर्ने कार्यमा योगदान पु¥याउँदै आएका छन्।
फूलपाती बढाइसँगै नेपालको ऐतिहासिक संस्कृति संरक्षणमा समेत योगदान पुग्ने वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले विश्वास लिए।
नेपालको संस्कृति तथा परम्परा सबै जातिभन्दा पनि माथि रहेको ठहर गर्दै त्यहाँ सरुन खेलमार्फत युवापुस्तालाई धार्मिक पर्यटनसँग जोडी सराङकोटको पहिचान विश्वमाँझ थप परिचित गराउने लक्ष्य पनि राखिएको छ ।
सराङकोट कुलमण्डल शाहको पालामा हतियार भण्डारण क्षेत्रको रुपमा समेत परिचित थियो।











