
देशको पछिल्लो विषम अवस्थालाई मध्यनजर राखी पोखरा–५, प्रस्याङ धारापानीमा सुरक्षा समिति गठन गरिएको छ।
शनिबार भएको टोलवासीको भेलाले दुर्गादत्त अधिकारीको नेतृत्वमा १३ सदस्यिय मूल टोल सुरक्षा समिति गठन गरेको हो ।त्यस्तै टोल स्थित विभिन्न वस्तीलाई लक्षित गरी अन्य १२ वटा सुरक्षा उपसमिति पनि निर्माण गरिएको धारापानी टोल विकास संस्था ‘ख’ का अध्यक्ष हरिश्चन्द्र अधिकारीले जानकारी दिए।
समिति गठनसँगै विषम परिस्थिति र यसबाट टोलमा हुन सक्ने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता अराजक गतिविधि रोकथाम एवम् न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस अवसरमा भनाई राख्दै टोलवासी धनञ्जय पौडेलले यतिवेला टोलको सुरक्षा आम टोलवासीको चाँसोको विषय भएको जनाए ।उनले सुरक्षा समितिलाई टोल विकास संस्थाको सहयोगी समितिको संज्ञा दिर्दै समिति मार्फत आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे।
टोलवासी वसन्त अधिकारीले सुरक्षा समितिले जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गर्दै मानिस सामाजिक प्राणी भएको औँल्याए ।दुःखसुखमा साथ दिनु मानवीय धर्म भएको उनको भनाई छ।
अर्का टोलवासी भीमप्रसाद भण्डारीले यस्तो अवस्थामा नागरिक स्वःस्फूर्त रुपमा टोलको सुरक्षामा खट्नुपर्ने भन्दै अप्ठ्यारो अवस्थामा नै मानिसको मूल्याङकन हुने स्पष्ट पारे।
त्यस अवसरमा धारापानी टोल विकास संस्था ‘ख’ का अध्यक्ष अधिकारी, स्थानीय शोभाखर अधिकारी लगायतले पनि भनाई राखे।उनीहरुले आवश्यकता अनुसार सेवा निवृत्त सेना, प्रहरीलाई समितिका समेट्दै जानुपर्ने औँल्याए।
हाल उक्त समितिले वस्तीमा गस्ती गर्ने तथा टोलमा आउने अपरिचित व्यक्तिलाई निग्रानी गर्ने गरेको छ।










