
अन्नपूर्ण–३, पाउँदुरकोट स्थित पाउँदुर आधारभूत विद्यालयले यातायात सेवा दिन सुरु गरेको छ ।
विद्यालयले भ्यान खरिद गरी आइतबारबाट विद्यार्थीलाई सेवा दिन सुरु गरेको हो।समुदायको सहयोगमा भ्यान खरिद गरी संचालनमा ल्याइएको विद्यालय अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।
सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पाउँदुरले नमुना कार्य गरेको स्पष्ट पार्दै एकतामा नै शक्ति हुने औँल्याए।उनले यातायात सेवा थपिएसँगै विद्यालय व्यवस्थापनमा सहजता बढ्ने अपेक्षा सुनाउँदै सहयोगकर्ता सबैप्रति धन्यवाद दिए।
गाउँपालिका शिक्षा सुधारमा लागि परेको भन्दै अध्यक्ष केसीले शिक्षा प्राप्तिसँगै व्यक्तिमा अनुशासन, विनयशीलता, नम्रता झल्कनुपर्ने औँल्याए।
विद्यालय अध्यक्ष प्रकाश गुरुङले गाउँवासीको सहयोगका कारण यातायात सेवा सम्भव भएको स्पष्ट पार्दै सहयोगदाता सबैप्रति धन्यवाद दिए ।उनले विगतदेखि नै विभिन्न व्यक्ति एवम् संघसंस्थाको साथ पाइरहेको स्पष्ट पार्दै शैक्षिक गुणस्तर बृद्धिमा यातायातले पनि प्रभाव पर्ने गरेको अनुभव राखे ।
प्रधानाध्यापक वसन्ती देवकोटाले विद्यालयलाई हरेक हिसावले नमुनायोग्य बनाउन खोजिएको भनाई राख्दै त्यसमा सहयोग गर्न सबैसँग आग्रह गरिन्।उनले करिव ८ लाखको लागतमा भ्यान खरिद गरिएको जानकारी दिइन्।
यसअघि विद्यालयले पोखरा काँडे चल्ने सार्वजनिक वसमा विद्यार्थी आवातजावतको व्यवस्था मिलाएको थियो।नर्सरीदेखि ५ कक्षासम्म संचालित उक्त विद्यालयमा हाल ७५ विद्यार्थी अध्ययरत छन्।योसँगै यातायात सेवा दिनेमा गाउँपालिकाका आधारभूत विद्यालयमा पाउँदुर पहिलो बनेको छ ।










