सराङकोटमा तीजमेला जारी

-


     श्रीभद्र पौडेल    
     भाद्र ९ गते २०८२ मा प्रकाशित


पोखरा–१८, सराङकोटधाममा तीजमेला जारी छ।
त्यहाँ सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा आइतबारदेखि मेला सुरु भएको हो ।
मेला उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले सराङकोट पर्यटकीय धार्मिक स्थल रहेको संज्ञा दिर्दै यसको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको औँल्याए ।तीज मौलिक पर्व भएको जनाउँदै प्रमुख आचार्यले त्यसभित्र रहेका विकृतिलाई भने हटाउनुपर्ने उल्लेख गरे।
कुलमण्डल शाहको पालादेखि सराङकोटको इतिहास जोडिएको जनाउँदै प्रमुख आचार्यले राष्ट्रपतिबाट सराङकोटधामको उद्घाटन हुनु सुखद् भएको सुनाए।
वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले पोखराको नमुना पर्यटकीय क्षेत्रका रुपमा सराङकोटलाई चिनाउँदै लोप हुँदै गएको सराङ खेललाई त्यहाँ पछिल्लोपटक पुनः जीवन दिने प्रयास गरिएको औँल्याए। मेला सफल बनाउने दायित्व आम सराङकोटवासीको भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सीनाले सराङकोटमा योगा पार्क निर्माणको तयारी भइरहेको पनि सुनाए।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले खुसीयालीका साथ तीज मनाउनुपर्नेमा जोड दिर्दै मौलिक संस्कृतिक पर्व तीजलाई नबिग्रार्न सुझाव दिए ।उनले पछिल्लोपटक कलाकारले संस्कृति विगार्ने गरी गीतसंगित निकाल्ने गरेकोमा दुख प्रकट गरे ।
वडा सदस्य कल्पना ढकाल क्षत्रीले सराङकोटको समृद्धिका लागि मेला आयोजना गरिएको स्पष्ट पार्दै उक्त उद्देश्य हासिल हुने उल्लेख गरिन् ।
महिला परिचालन उपसमितिका उपसंयोजक इन्द्राकुमारी थापाले महिलाहरु चुल्हो चौकोमा मात्रै सीमित हुन नहुनेमा जोड दिर्दै २०५४ सालदेखि सराङकोटमा तीजगीत प्रतियोगिता हुँदै आएको स्मरण गरिन्।
त्यहाँ आइतबार र सोमबार कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेल, प्रेमराज अधिकारी, माया गुरुङ, सरास्वती लामिछाने, तुलसा जिसी, नवराज अधिकारी लगायतले प्रस्तुति राखे ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष मीनबहादुर थापाले स्वागत, वृषा जिसीले स्वागत नृत्य एवम् सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरे।
मंगलबार सकिने मेला अन्र्तगत खुला तीजगीत, एकल महिला नृत्य, डोरी तान्ने, ठेलो हान्ने लगायतका प्रतियोगिता जारी छन्।