
पोखरा–१८ सराङकोट टपमा हालसम्म करिव ३५ करोड लागतका संरचना निर्माण भएका छन्।त्यहाँ विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ, धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन तथा स्वागतद्वार निर्माण गरिएको छ।
उक्त संरचनाको गत फागुन १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन पनि गरे।उनी काठमाडौंबाट हेलिकप्टरमार्फत सिधै सराङकोट पुगे र उद्घाटन गरी केही घण्टामै हेली मार्फत पुनः काठमाडौं फकिए।
यो खवर त्यतीबेला राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पनि निकै चर्चाको विषय बन्यो।सो वेला राष्ट्रपतिसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पनि सम्बोधन गरे।
धाम उद्घाटनसँगै सराङकोटवासीमा खुशीसँगै अर्को छट्टपटी सुरु भयो।संरचना निर्माणमा हालसम्म करिव ३५ करोड खर्च भयो।देशकै प्रमुख व्यक्तित्व राष्ट्रपतिबाट उद्घाटन पनि भयो, तर पोखरादेखि त्यहाँ पुग्न बाटोको साधुरोपना तथा घुम्तीहरुको अवस्थाले सराङकोटवासीलाई थप पोल्न थाल्यो।
यही कुराको चिन्ता वडाले आयोजना गरेको गत आ.वको सार्वजनिक सुनुवाईमा स्थानीय बलराम तिमिल्सीनाले पोखे।किन वडाले विन्ध्यवासिनीदेखि सराङकोटसम्म आउने बाटो चक्लाउन पहल गर्दैन ?यो गम्भीर प्रश्न छ।
पोखरा आउने अधिकाशं पर्यटक मझौला तथा साना सवारीको मात्रै प्रयोग गर्दै किन सराङकोट पुग्नुपर्दछ ? देशका विभिन्न सहर तथा भारतबाट सिधै आएका डिलक्स बस सराङकोटसम्म किन पुगेनन्, र पु¥याउन खोजिएन, विन्ध्यवासिनीमै रोकिनुपर्ने, यसको गम्भिर समीक्षा हुनुपर्दछ तिमिल्सीनाले भने।पोखरा हेर्ने सराङकोट पुग्नुपर्दछ भन्ने तर पोखरासम्म आएको गाडी फेरेर हलुका सवारीमा सराङकोटसम्म पुग्नुपर्ने, यो कस्तो बाध्यता हो ? यसले समग्र पोखरा र सराङकोटकै बेइज्जत भएको तिमिल्सीनाले दुखेसो छ।उनले उठाएको मुद्धामा सुनुवाईका अधिकाशं सहभागिले सहमत जनाए र ताली समेत पिटे।
सुनुवाईका बीच करिव ३० जना वडावासीले प्रतिनिधिमूलक रुपमा प्रत्यक्ष प्रश्न, जिज्ञासा, सुझाव, सल्लाह राखे भने केहीले लिखित रुपमा पेश गरे। उनीहरुले भौतिक जस्तै वडाले मानविय विकासलाई पनि ध्यान दिनुपर्ने, संघसंस्थाको रेकर्ड स्पष्ट राख्नुपर्ने, भूमिहिनलाई चाँडै लालपूर्जा उपलब्ध गराउनुपर्ने, ढल निकासीलाई प्राथमिकता दिनुपर्ने लगायत माग राखे।
त्यस्तै सराङकोटका होटल तथा होमस्टेले त्यहाँको उत्पादन तथा जनशक्तिलाई प्राथमिकता दिनुपर्ने, वडा शिक्षा समितिलाई थप सक्रिय बनाउनुपर्ने, वडामा दक्ष कर्मचारी राख्नुपर्ने, फेवाताल सीमाङकनलाई जनमुखि हिसावले सम्बोधन गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र खिच्न वडाले सहजीकरण गर्नुपर्ने,, नगरवस चलाउनुपर्ने, भकुण्डे तथा सेदीबाट वडा कार्यालयसम्म पुग्नका लागि छोटो कनेक्टिङ सडक निर्माण गर्नुपर्ने लगायत पनि सुझाव दिए।
त्यस्तै वर्षपिच्छे सार्वजनिक सुनुवाई गर्नुपर्ने, वडामा रहेका कुकुर गणना गर्नुपर्नु, सार्वजनिक जग्गाको संरक्षण हुनुपर्ने, पदमार्ग निर्माणलाई महत्व दिनुपर्ने, शिक्षकलाई राजनीति गर्न बन्द गराउनुपर्ने लगायत प्रति पनि वडावासीले नेतृत्वको ध्यानाकर्षण गराए।
त्यस्तै फोटोकपी, प्रिन्टको सुविद्या पैसा लिएरै भएपनि वडाले नै दिनुपर्यो, कार्यालयमा सेवाग्राहीलाई खानेपानी व्यवस्थापन हुनुपर्ने, सुशासनको कुरा गर्ने जनप्रतिनिधि बीच पनि सुशासन हुनुपर्ने, टोल विकास संस्था मार्फत योजना माग गरिए अनुसार बजेट छुटाउनुपर्ने, सडकबत्ती मर्मत गर्नुपर्ने, कार्यक्रम हल निर्माण गर्नुपर्ने, अपाङ, वृद्धलाई घरमै गएर सेवा सुविद्या दिनुपर्ने, वडामा वडाध्यक्ष नभए कार्यवहाक हुनुपर्यो, फोहोर उठाउने गाडी नियमित पुग्नुपर्ने, वडाले युवा ससक्तिकरणका लागि वजेट छुटाउनुपर्ने, योजनाको स्टीमेट सरल नेपाली भाषामा बनाउनुपर्यो लगायत विषयमा पनि आवाज उठाए।
जवाफमा वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले जनताका सुझावलाई आफूले पँुजीका रुपमा ग्रहण गर्ने उल्लेख गर्दै समृद्ध वडा बनाउन पहल भइरहेको सुनाए।विन्ध्यावासिनी सराङकोट सडक स्तरउन्नतीका लागि यस वर्ष प्रदेश सरकारबाट रु.१ करोड बजेट विनियोजन भएको छ, त्यसमार्फत चालु वर्ष घुम्तीहरु चक्लाउने काम हुन्छ, त्यसमा महानगरले पनि थपथाप गर्छ नै अध्यक्ष तिमिल्सीनाले भने।
उनले सकभर आफूले राम्रो काम गर्ने दावी गर्दै गतल काम कुनै हालतमा हुन नदिने उल्लेख पनि गरे ।भदौं १५ लगतै जनताको घरदंैलोमा पुग्ने गरी कार्ययोजना बनाएका छौं, अध्यक्ष तिमिल्सीनाले भने वडा शिक्षा समितिलाई पनि थप सक्रिय बनाउँछौं।
तिमिल्सीनाले फेवाताल सीमाङकनको विषय अदालतको निर्णय अनुसार नै हुने उल्लेख गरे।सराङकोट टपलाई मात्रै सराङकोट नभनिएको स्पष्ट पार्दै अध्यक्ष तिमिल्सीनाले वडा भित्र रहेका कुकुर गणना गरेर खोप लगाउने प्रतिबद्धता समेत जनाए ।चंखपुरदेखि वडा कार्यालयलाई लक्षित गरी कनेक्टिङमार्ग निर्माणको पहल भइरहेको जनाउँदै वडाध्यक्ष तिमिल्सीनाले सबै मिले चाँडै नै सराङकोट समृद्ध बन्ने औँल्याए।
वडा सदस्य कल्पना ढकाल क्षत्रीले जनताका सुझावलाई ग्रहण गर्ने उल्लेख गर्दै आफूहरु जनताकै सेवामा समर्पित रहेको दावी गरिन्।उनले महिला ससक्तिकरणको पक्षमा आफुले विशेष ध्यान दिएको पनि भनाई राखिन्।
वडा सदस्य नमराज सुवेदीले जनताका सुझाव मननयोग्य रहेको सुनाउँदै सुनुवाईलाई आगामि वर्षमा पनि निरन्तरनता दिने उल्लेख गरे।
वडा सचिव हरिकृष्ण आचार्यले वडामा सहायता कक्ष राख्न कर्मचारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै सुनुवाई मार्फत वडावासीसँग प्रत्यक्ष साक्षत्कार गर्न पाएकोमा खुशी व्यक्त गरे।
भूमि आयोग कास्की प्रवक्ता आशबहादुर गुरुङले सुकुम्बासीले भूमि प्राप्त गर्ने प्रक्रिया सुनाउँदै अहिलेको आयोगले अधुरा कार्यलाई पूर्णता दिने उल्लेख गरे।उनले आयोग पिच्छेका कार्यविधिले अन्योलता बढाएको पनि अनुभव राखे।
इञ्जिनियर नरेन्द्र वस्र्यालले नेपाली भाषामा योजनाका स्टीमेट बनाउन जटिलता रहेको सुनाउँदै स्टीमेट अनुसार कार्य नहुदाँ भुक्तानी रकम घट्ने(कम हुने) गरेको सुनाए।त्यस अवसरमा वडा सदस्यद्वय रमेश थापा र मीना नेपालीले पनि जिज्ञासा मेट्ने प्रयास गरे।
अन्नपूर्ण सञ्चार तथा बहुउद्देश्यीय प्रालिको सहजीकरणमा भएको उक्त सुनुवाई पत्रकार श्रीभद्र पौडेलले संचालन गरे।कार्यक्रममा संचारकर्मी सरला त्रिपाठी भण्डारीले नागरिक प्रतिवेदन प्रस्तुत गरिन् । त्यस्तै संचारकर्मीद्वय विकला पोखरेल पौडेल र लक्ष्मणबहादुर परियारले पनि समन्वय गरे।










