
पोखरा–१८, सराङकोटधाममा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
त्यहाँ सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौंमा मेला हुँदैछ ।मेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको छ ।
मेला सम्पन्न गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यिय मूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरि कार्य अगाडि बढाइएको छ।जसको उपाध्यक्षद्वयमा उमनाथ चपाई र मीनबहादुर थापा, महासचिवमा शम्सेरबहादुर थापा तथा सचिवमा डिलबहादुर थापा छन्।
त्यस्तै कृष्णबहादुर थापाको नेतृत्वमा प्रचारप्रसार, शिवप्रसाद कोइरालाको नेतृत्वमा आर्थिक संकलन, वडा सदस्य कल्पना ढकाल क्षत्रीको संयोजकत्वमा महिला परिचालन एवम् राजकिशोर थापाको नेतृत्वमा युवा परिचालन समिति पनि निर्माण गरिएको छ।ति समितिले पनि जिम्मेवारी पुरा गरिरहेका छन् ।
मेला अन्र्तगत खुला तीजगीत, एकल महिला नृत्य, डोरी तान्ने, ठेलो हान्ने लगायतका प्रतियोगिता हुँदैछन् ।
तीजगीततर्फ प्रथम हुने समूहले रु.६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार तथा सान्त्वना हुने ३ समूहलाई २१ हजार साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ।त्यस्तै उत्कृष्ट भेषभुषा तथा नृत्यलाई पनि जनही रु.३ हजार पाँच सय साथमा प्रमाणपत्र व्यवस्था छ।गीत सराङकोटको ऐतिहासिक पृष्ठभूमि, धार्मिक एवम् पर्यटकको महत्व विषय केन्द्रीत हुनुपर्नेछ।
त्यस्तै तीजका मौलिक गीतमा हुने एकल महिला नृत्यतर्फ प्रथम हुनेले रु.१० हजार, दोस्रोले रु.७ हजार, तेस्रोले ५ हजार, सान्त्वनालाई रु.३ हजार प्रदान गरिने महिला परिचालन समिति संयोजक वडा सदस्य कल्पना ढकाल क्षत्रीले जानकारी दिइन्।
त्यसैगरी डोरी तान्ने विजेता समूहले रु.११ हजार १ सय, उपविजेताले रु.७ हजार १ सय एवम् ठेलोतर्फ प्रथमले रु.५ हजार एक सय र द्वितीय हुनेले रु.३ हजार एक सय प्राप्त गर्नेछन्।










