
विज्ञानको आत्मा जिज्ञासा भएको औँल्याइएको छ।नेपाल भौतिक विज्ञान समाज गण्डकीले बिहीबार भलाममा गरेको ‘पदमार्गमा क्वान्टम विज्ञान’ विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताले उक्त कुरा औँल्याएका हुन्।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले विज्ञानले जिज्ञासु भावलाई जागृत गर्ने स्पष्ट पार्दै क्वाण्टम विज्ञान भविष्य निर्माणको आधार भएको बताए।
गण्डकी सरकार अनुसन्धानमुखी शिक्षा, प्रयोगशाला सुदृढीकरण तथा विद्यार्थी, शिक्षक प्रेरणाका कार्यक्रमलाई प्राथमिकता दिने पक्षमा रहेको जनाउँदै मन्त्री थापाले विज्ञान र प्रविधिको क्षेत्रमा मिलेर काम गरे चाँडै विकास हुने धारणा राखे।भौतिकशास्त्र मानवशास्त्रकै अभिन्न अङग भएको भन्दै मन्त्री थापाले युवा पुस्तामा वैज्ञानिक चेत बढाउनुपर्ने औँल्याए ।
मकै तथा गहुँ प्रवद्र्धन केन्द्र मेक्सीकोका प्रधान वैज्ञानिक डा.टेकबहादुर सापकोटाले विज्ञानको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको भनाई राखे । उनले सर्वसुलभ पढाई नेपालमै भएकाले पठनपाठनका लागि विदेश जाने सोच त्याग्न विद्यार्थीलाई सुझाए।संसारका प्रत्येक चिजमा विज्ञान जोडिने उनको भनाई छ।
कार्यपत्र प्रस्तुत गर्दै गण्डकी विश्वविद्यालयमा पूर्व डिन सह.प्रा.डा.कपिल अधिकारीले क्वान्टम विज्ञानले सुक्ष्म चिजको मात्रै अध्ययन गर्ने स्पष्ट पारे।त्यसको महत्व दिनानुदिन बढ्दै गइरहेको भन्दै डा. अधिकारीले क्यान्टम प्रविधिलाई आत्मसात गर्नुको विकल्प नभएको जनाए।
समाजका अध्यक्ष डा.कृष्णराज अधिकारीले युनेस्कोले आधुनिक क्वान्टम विज्ञानको सुरुवात भएको शताब्दी पुरा गरेको अवसरमा घोषणा गरेअनुसार कार्यक्रम गरिएको उल्लेख गर्दै आफूहरु अभियान दिएर गाउँगाउँ पुग्ने भनाई राखे।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सह.प्रा सुर्यबहादुर जिसी, महेन्द्र माविका अध्यक्ष चित्र क्षेत्री, प्रधानाध्यापक बोधराज पौडेल लगायतले पनि धारणा राखे।
त्यस अवसरमा महेन्द्र मावि भलाम तथा हिमालय मावि मौजाका विद्यार्थीलाई प्रशिक्षण दिइयो।
समाजका अध्यक्ष डा.अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम समाजका सचिव रवि कार्कीले संयोजन एवम् संचालन गरे।
अभियान अन्र्तगत समाजले गण्डकीका २० हजार मानिसमा क्वान्टम विज्ञानबारे ज्ञान दिने उल्लेख छ।










