
पोखरा–५, प्रस्याङ स्थित जनहित महिला समूहको आयोजना तथा धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहआयोजनामा हुन लागेको प्रथम जनहित खुल्ला तीजगीत प्रतियोगिताको तयारी पुरा भएको छ।
यहि भदौं १ गते हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको र कुल १५ देखि २० समूहको सहभागिता रहने आयोजक जनहित महिला समूहकी अध्यक्ष चन्द्रावती गैह्रे अधिकारीले जानकारी दिनुभयो।
जनहित मार्ग स्थित धारापानी मन्टेश्वरीमा हुने उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१० हजार, दोस्रोलाई रु.७ हजार, तेस्रोलाई रु.५ हजार तथा सान्त्वना पुरस्कार रु.३ हजार साथमा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट भेषभुषा तथा नृत्यलाई पनि समान रु.१ हजार पुरस्कार व्यवस्था गरिएको महिला समूहले उल्लेख गरेको छ।
‘तीज हाम्रो परम्परा हो, जसले आजको समयमा पनि नयाँ अर्थ पाउन सक्छ– नाचौं, गाऔं र रमाऔं’ नाराका साथ प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताका लागि टिम दर्ता निःशुल्क व्यवस्था गरिएको छ।
प्रतियोगितामा समावेश हुने गीत विशुद्ध नेपाली कला, संस्कृति एवम् मौलिकता झल्काउने खालको हुनुपर्नेछ । त्यस्तै कुनै व्यक्ति, संस्था, जातजाति, धर्म, लिङग र राजनीतिक आस्थामा चोट पु¥याउने खालको हुन नहुने साथै प्रतियोगी समूहलाई प्रस्तुतिका लागि १० मिनेट समय प्रदान गरिने आयोजकले उल्लेख गरेको छ ।










