सराङकोट धाममा तीज मेला हुँदै

-


     श्रीभद्र पौडेल    
     श्रावण १४ गते २०८२ मा प्रकाशित


पोखरा–१८, सराङकोट धाममा तीज मेला हुने भएको छ। सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा मेला हुने भएको हो।

सोमबार भएको भेलाले मेला गर्ने निर्णय गरेको छ ।मेलाको मिति, त्यहाँ हुने प्रतियोगिता एवम् विभिन्न गतिविधि आगामि बैठकले तय गर्ने उल्लेख छ।

भेलालाई सम्बोधन गर्दै सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले नारीको दुःखसुख आदानप्रदान गर्ने चाँडका रुपमा तीजलाई सम्झदै तीजका नाममा हुने गरेका विकृतिलाई अन्त्य गर्नुपर्ने बताए।

वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले तीज मेलाले सराङकोट धाममा रौनकता थप्ने विश्वास लिर्दै संस्कार, संस्कृति जर्गेना गर्ने दायित्व आम नागरिकको पनि भएको उल्लेख गरे।

वडा सदस्य कल्पना ढकाल क्षत्रीले तीजलाई झड्किलो नबनाउन सुझाव दिर्दै हार्दिकता पूर्वक मनाउने पर्व नै सम्झनायोग्य हुने औँल्याइन्।

त्यस अवसरमा नेपाली काँग्रेस पोखरा १८ का सभापति नारायण खड्का, नमूना जागृति आमा समूह अध्यक्ष कमला गोतामे, सराङकोट टप टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र चपाई, गोठादी टोल विकासमा अध्यक्ष उदय थापा, सुन्दरपोखरी टोल विकासका अध्यक्ष रामजी विक, सीमताल आमा समूहकी सम्झना जिसी लगायतले पनि भनाई राखे।

यसैबीच सराङकोट धाममा साउनका प्रत्येक सोमबार शिव महिमा पूजा भइरहेको छ। त्यस अवसरमा दिनभरजसो शिवपुजन, भजनकीर्तन, रुद्राभिषेक, साँझ महाआरती हुनेछ।

त्यसका साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमेकालिका, भैरव र चण्डी मन्दिरको दर्शन व्यवस्था छ भने अन्नपूर्ण केवलकारले महाआरतीमा सहभागि हुनेका लागि रु.दुई सय ५० मा आवतजावतको व्यवस्था मिलाएको छ।