
वरीपरि हरियाली वातावरण एवम् मनमोहक दृष्यले सुसज्जित छ कास्कीको अन्नपूर्ण ३, काउनडाँडा ।नजिकै काँडे बजार तथा कृषिसँगै जोडिएको कृषि अनुसन्धान निर्देशनालय लुम्ले।त्यसकै पेरीफेरीमा रहेका पर्यटकीय स्थल पाउँदुरकोट, अष्टे«लियन क्याम्प, भदौरेदेउराली, लाख्रे वनभोज स्थल थप आकर्षणका केन्द्र।
काँडे भनेपछि चिसो, स्वस्थ, स्वच्छ, अर्गानिक खेतीपाती गरिने एवम् धेरै पानी पर्ने ठाउँ भन्ने बुझाई अधिकाशको छ नै।त्यही काँडेकै समीपमा भौगोलिक रुपमा असाध्यै शान्त काउनडाँडा अवस्थित छ।जुन फेवा जलाधार क्षेत्र भित्र पर्दछ ।त्यही काउनडाँडामै केही वर्षयता कास्कीकै शोभा रुवरुप अन्नपूर्ण बुहुप्राविधिक शिक्षालय संचालित छ।
उक्त शिक्षालय यतिवेला गरिव दीनदुःखीका छोराछोरी पढ्ने शैक्षिक संस्था बन्न पुगेको छ ।शिक्षालय भर्ना भएका अधिकाशंलाई त्यहाँ निःशुल्क पठनपाठनको व्यवस्था मिलाइदै आइएको छ।

उक्त शिक्षालययमा हाल एसइई पछि डिप्लोमा ईन कृषितर्फ ३ वर्षे बाली विज्ञान साथै पशु विज्ञानको पढाई हुँदै आएको छ।
त्यहाँ अन्नपूर्ण गाउँपालिका क्षेत्रका विद्यार्थी भर्ना भएमा गाउँपालिकाले शिक्षण शुल्क पुरै तिरिदिने व्यवस्था मिलाइएको छ ।त्यस्तै मातृशिशु प्रतिष्ठान नेपालले पनि २० जना छात्रालाई छात्रवृर्ति दिने गरी शिक्षालयसँग सम्झौता गरेको छ।
कृृषि जस्तो विषय शहरमा पढ्न प्रायः सम्भव छैन, काँडे पोखराबाट नजिकै छ, यहाँ अधिकाशं गरिवका छोराछोरी पढछन् । यहाँ पढ्ने विद्यार्थी प्राय सबैले छात्रवृर्ति पाउँछन् नै, शिक्षालय प्रमुख ई.विकल अधिकारीले भन्नुभयो।
शिक्षालयमा हाल कास्की लगायत पर्वत, लमजुङ, म्याग्दी, गोरखा, तनहुँ, स्याङजा, बाग्लुङका अधिकाशं विद्यार्थी अध्ययनरत छन् । दक्ष तथा तालिम अनुभवि प्रशिक्षकबाट पठनपाठनको व्यवस्था मिलाइएको छ, सुविद्या सम्पन्न ल्याब तथा फिल्डको व्यवस्था छ, यो शिक्षालयको सवल पक्ष हो प्रमुख अधिकारीले उल्लेख गर्नुभयो।
त्यसका साथै त्यहाँ छात्रावासको पनि निःशुल्क व्यवस्था मिलाइएको छ।उत्पादनमा जोडिन चाहने प्रशिक्षार्थीलाई समूहमा लागतको व्यवस्था समेत गरिएको शिक्षालयले जनाएको छ ।
काउनडाँडाका ईश्वरीप्रसाद पौडेल शिक्षालय दीनदुःखीका छोरोछोरी पढ्ने शैक्षिक संस्था बनेको बताउनुहुन्छ।हामीलाई सुरुमा यति सारो विश्वास थिएन, गरिवका छोराछोरी यहाँ पढ्न पाउलान् भनेर, तर पाएपछि त वास्तविक कुरा भन्नैपर्यो, उहाँले प्रष्ट पार्नुभयो।

त्यस्तै अर्का स्थानीय अञ्जना विक भाइबहिनीले घरछेउबाट प्राविधिक शिक्षा पढ्न पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ।हामीले पैसा अभावका कारण साधारण शिक्षा पनि राम्रोसँग पढ्न पाएनै, अहिले भाइबहिनीले घरछेउबाटै निःशुल्क रुपमा प्राविधिक शिक्षा पाएका छन्, साच्छै लाग्छ मलाई, यो सपना हो या विपना ।
विश्वकर्माले साधारण शिक्षा(सामान्य)को तुलनामा प्राविधिक शिक्षाको महत्व अधिक रहेको पनि सुनाउनुभयो।यस्तो शिक्षा लिएसँगै जागिर पाउने तथा स्वरोजगार बन्ने सम्भावनाको ढोका पनि त्यतीकै खुल्छ उहाँले भन्नुभयो।
उक्त शिक्षालय निर्माणका लागि त्यस क्षेत्रका अगुवाहरुको सक्रियतामा ढिकुरपोखरीमा महायज्ञ लगाइ १४ रोपनी बढी जग्गा खरिद गरिएको थियो।उक्त शिक्षालय प्राविधिक तथा व्यवसायिक तालिम परिषद्को आंगिक शिक्षालयका रुपमा संचालित छ।










