अन्नपूर्णवासीको प्रश्नः कहिले बन्छ पालिका भवन ?

-


     श्रीभद्र पौडेल    
     श्रावण ३ गते २०८२ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिकावासीले पछिल्ला वर्ष यता बारम्बार गर्दै आउने प्रश्न हो पालिका भवन कहिले बन्छ भनेर ? यो प्रश्न त्यहाँका चिया पसलदेखि खेतवारी, मेलापातमा समेत नागरिक स्तरमा राम्रै चल्ने गर्दछ।

वडा कार्यालयका भवन सबै बने, तर पालिका भवनकै ठेगान छैन, माछापोखरीमा बनाउने भनी पहिलो कार्यकालमा(युवराज कुँवरको पालामा) गाउँसभाले निर्णय पनि गर्यो तर ठोस रुपमा काम अगाडि बढ्न सकेन ।दोस्रो कार्यकालका जनप्रतिनिधिको पनि ३ वर्ष बढी बितीसक्यो, अझै पनि पालिका भवन शिलान्यासको सुरसारसम्म छैन।यो सार्वजनिक विषयमा सरोकार राख्ने त्यहाँका आम नागरिकहरु बीच हुने छलफलको ठूलै विषय बनिरहेको छ आजकल।

बुधवार भएको गत आ.वको तेस्रो सार्वजनिक सुनुवाईका बीच पनि पालिकावासीले भवन निर्माणबारे पालिका नेतृत्वको ध्यानाकर्षण गराए।हामीलाई अव केही चाहिएको छैन, पालिका भवन निर्माण कहिले हुन्छ भन्ने छट्पट्टी छ, चाँडै निर्माण गर्नुहोस् नेपाली कांग्रेस अन्नपूर्ण सभापति मनपति भण्डारीले सुझाव दिर्दै भने।

 पालिका भवन निर्माण सेफ लेन्डिङमा जानुपर्दछ।यो विरालोले छाउरा सारेजस्तो विषय पनि होइन ।यसमार्फत जनता विभाजित गर्नुहुँदैन, त्यस्तो भए यो कसैको हितमा पनि हुँदैन, अर्का सहभागि राप्रपा नेता हरीराम भण्डारीले भने।भण्डारीद्वयका कुरामा स्थानीय मुना भण्डारीले पनि हो मा हो मिलाइन् र चाँडै प्रशासनिक भवन निर्माण गर्न जोड दिइन्।

त्यस्तै अन्य सहभागिले ढिकुरपोखरी खेलमैदानमा हाल माटो थुपारिएका कारण अव्यवस्थित भएको, लक्षित वर्गको बजेट कार्यान्वयनमा पालिकाकै कर्मचारीले हस्तक्षेप गर्ने गरेको, अन्नपूर्ण ४ स्थित थाप्लेका भूमे जाने सडक जीर्ण रहेको, पालिकाका सवारी साधन मर्मत गर्दा अन्नपूर्णका वर्कसर्वलाई उपेक्षा गरिएको, अन्नपूर्ण बुहुप्राविधिक शिक्षालय व्यवस्थापनमा गाउँपालिकाको उचित ध्यान दिन नसकेको लगायत गुनासो पोखे।

त्यस्तै बढ्दो जनघनत्वलाई विचार गरी ढिकुरपोखरी क्षेत्र स्थित पोखरा बाग्लुङ राजमार्गका विभिन्न स्थानमा जेब्राक्रम निर्माण गर्नुपर्ने, अन्नपूर्ण २ मा रहेको पुरानो महिला संजाललाई(दर्ता भएको) पालिकाले अपनत्व लिनुपर्ने, फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने, पोखरा बाग्लुङ राजमार्गको मापदण्ड कार्यान्वयनमा जोड दिनुपर्ने, स्थानीय तहका जस्तै संघ तथा प्रदेशका योजनाको पनि प्रभावकारी अनुगमन गर्नुपर्ने, जग्गाको नापी प्रक्रियालाई व्यवस्थित गर्नुपर्ने भन्दै पालिका नेतृत्वको ध्यानाकर्षण गराए।

जवाफमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिका भवन निर्माणबारे आफूहरु गम्भिर रहेको सुनाउँदै पहिले निर्णय भएकै स्थान माछापोखरीमा छिट्टै भवन शिलान्यास गरिने विश्वास दिलाए।केही पूर्व जनप्रतिनिधिहरुबाट भवन निर्माणबारे हलो अड्काउनेः गोरु चुट्ने काम भएको छ, यो भवन निर्माण गर्न नदिने प्रयास जस्तै हो उनले गुनासो पोखे।

अध्यक्ष केसीले आफूहरु गरिव जनता पक्षमा रहेको सुनाउँदै त्यसअन्र्तगत यातायात व्यवसायी र उपभोक्तासँग बसी कच्ची सडकको भाडादर तोकिएको, स्वास्थ्य विमा कार्यक्रम लागु गरिएको स्पष्ट पारे।माछापुच्छे« खेलमैदान व्यवस्थापनमा पालिका गम्भिर रहेको जनाउँदै अध्यक्ष केसीले अन्नपूर्ण पालिका अस्पताल संचालनको प्रयास भइरहेको पनि जनाए।

केसीले अन्नपूर्ण आधार शिविर पुग्ने हेलीकप्टरसँग पर्यटन शुल्क लिने तथा विभिन्न जलविद्युत् योजना निर्माण पश्चात राजश्व संकलन गरी अन्नपूर्णको आन्तरिक आम्दानी बढाउन खोजिएको स्पष्ट पारे । आफ्नो कार्यकालमा लान्दु्रक खानेपानी योजनाको पानी घरघरमा चुहाउने प्रतिबद्धता पनि उनले सुनाए ।मेरो नेतृत्वको टिमले राम्रो कति गर्न सक्छौं थाहा छैन तरपनि पालिका बिगार्ने काम हामीबाट हुँदैन अध्यक्ष केसीले भने।

उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले जनताका सुझाव मनन योग्य रहेको सुनाउँदै यसवर्ष मानव विकास केन्द्रीत बजेट ल्याएको बताइन्।उनले संघ तथा प्रदेशबाट सम्बोधन नभएका टोलमा पालिकाले प्राथमिकताका साथ बजेट विनियोजना गरेको दावी पनि गरिन्।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पछिल्लो चार महिनाका उपलब्धि सुनाउँदै अन्नपूर्णलाई समृद्ध पालिका बनाउन खोजिएको स्पष्ट पारे।उनले हेली मार्फत पर्यटन शुल्क उठाउन थालिएको, विहान १० बजे राष्ट्रिय गानसँगै पालिका गान गाउँने प्रचलन सुरु गरिएको, अन्नपूर्ण ३ दर्पण सार्वजनिक, डिजिटल नागरिक वडापत्र, गत वर्ष बनेका २६ कानुन, गोला सहितको मौरीघार वितरण, आमा सुरक्षा कार्यक्रम, मुस्कान सहितको सेवा लगायतलाई पछिल्लो ४ महिनाका महत्वपूर्ण उपलब्धिका रुपमा सम्झिए।उनले आ.वमा कुल ८८.३९ प्रतिशत वित्तिय प्रगति भएको पनि अवगत गराए।

त्यस अवसरमा वडा नं.२ का अध्यक्ष पिताम्बर भण्डारी, ४ का अध्यक्ष आइन्दल गुरुङ,गाउँपालिका जिन्सी शाखा प्रमुख ठाकुरप्रसाद भण्डारी, महिला बालबालिका शाखा प्रमुख निर्मला कुँवर लगायतले विभिन्न जिज्ञासाको समाधान गर्ने प्रयास गरे।

       आमा पब्लिकेशन प्रा.लि पोखराको सहजीकरणमा भएको उक्त सुनुवाई पत्रकार इन्द्रप्रसाद पौडेल, श्रीभद्र पौडेल लगायतले संचालन गरे।