
पोखरा–५, प्रस्याङ स्थित शान्ति निकेतन स्कुलले एसइई २०८१ मा समुत्तीर्ण विद्यार्थीलाई शनिबार साँझ एक कार्यक्रमका बीच सम्मान गरेको छ।
विद्यालयले ४ जिपीए प्राप्त गर्न सफल अनुपम पराजुली र निश्चल कोइराला सहित ३९ जना उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान गरेको हो।४ जिपीए प्राप्त गर्न सफल विद्यार्थीद्वयलाई जनही रु.१ लाख सहित विद्यालयले सम्मान गर्यो।
कार्यक्रममा धारणा राख्नुहँदै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले उत्तीर्ण विद्यार्थीलाई बधाई दिनुहुँदै अव देशको आवश्यकता पुरा गर्ने जनशक्ति बन्न सुझाव दिनुभयो।उहाँले शान्ति निकेतन जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था रहेको औँल्याउनुहुँदै आगामि दिनमा त्यसको विरासतलाई जोगाइराख्न आग्रह गर्नुभयो ।
विद्यार्थीलाई सामाजिक क्रियाकलापमा सहभागि हुन सुझाव दिनुहुँदै प्रमुख आचार्यले कम जिपीए ल्याएका विद्यार्थीलाई पनि प्रोत्साहन गर्नुपर्ने स्पष्ट पार्नुभयो।उहाँले बाबुनानीलाई जीवन जीउने सीप सिकाउन आवश्यक रहेको चर्चा समेत गर्नुभयो।

प्राचार्य डा.महेश्वर पराजुलीले विद्यार्थीको लगनशीलता, शिक्षकको इमान्दारिता एवम् वफादारिता, अभिभावकको चाँसो तथा विद्यालय प्रशासनको सक्रियताका कारण उक्त नतिजा ल्याउन सफलता मिलेको औँल्याउनुभयो।उहाँले सम्मानले विद्यार्थीलाई हौसला मिल्ने ठम्याइका साथ कार्यक्रम गरिएको स्पष्ट पार्नुहुँदै लोभलाग्दो सफलता प्राप्त भएको दावी गर्नुभयो।विद्यालयको रणनीतिमा अभिभावक साझेदार बन्नुभएकोमा उहाँले खुशी समेत व्यक्त गर्नुभयो।

४ जिपीए प्राप्त गर्न सफल अनुपम पराजुली तथा निश्चल कोइरालाले यो आफुहरुको मात्रै सफलता नभई परिवार, शिक्षक, विद्यालय प्रशासन तथा महानगरकै सफलता भएको उल्लेख गर्नुभयो।उहाँहरुले पढ्दाको अनुभव राख्नुहुँदै ४ जिपीए ल्याउन सजिलो नभएपनि असम्भव भने नरहेको स्पष्ट पार्नुभयो।
त्यस अवसरमा विद्यालयका अध्यक्ष कृष्णमणि भूत्र्याल, बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, अभिभावक कमल पौडेल अथक लगायतले पनि धारणा राख्नुहुँदै शान्ति निकेतनको सिको अन्य विद्यालयले पनि गर्नुपर्ने जनाउनुभयो।
विद्यालयका अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक हेम सुवेदीले संचालन गर्नुभयो।










