
कास्कीको अन्नपूर्ण गाउँपालिका–२, नागडाँडा स्थित मोर्निड्डस्टार माध्यमिक विद्यालयले एसइई २०८१ मा उत्तीर्ण विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।
विद्यालयले ४ जिपीए प्राप्त गर्न सफल समिर अधिकारी सहित उत्तीर्ण ४२ जना विद्यार्थीलाई सम्मान गरेको हो ।४ जिपीए प्राप्त गर्न सफल अधिकारीलाई नगद रु.२० हजार, ३.९ जिपीए प्राप्त गरेकी नम्रता दाहाललाई रु.१० हजार सहित विद्यालयले सम्मान गर्यो।त्यस्तै बाजागाजा सहित ढिकुरपोखरी क्षेत्र परिक्रमा समेत गराइयो।
विद्यार्थी सम्मान गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालयले जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।मोर्निड्डस्टारले आफ्नो विरासत जोगाइराखेकै छ, त्यसबाट अन्य विद्यालयले पनि पाठ सिक्न आवश्यक छ अध्यक्ष केसीले भने।

गाउँपालिकाले अहिले शिक्षा तथा स्वास्थ्यलाई विशेष जोड दिइरहेको भनाई राख्दै अध्यक्ष केसीले भौतिक विकास सँगसँगै मानवीय विकासलाई पनि ध्यान दिने गरिएको स्पष्ट पारे।
उपाध्यक्ष चन्द्रकला अधिकारीले अन्नपूर्णको शैक्षिक धरोहरका रुपमा मोर्निड्डस्टारलाई चिनाउँदै अभिभावक, विद्यार्थी, विद्यालय प्रशासन चनाखो भएमात्रै शैक्षिक नतिजा उत्कृष्ट आउने बताइन्।उनले आफूले कुन विषय पढ्ने भन्ने बारे स्वयम् विद्यार्थीले नै निर्णय गर्नुपर्ने धारणा राखिन्।
प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले मेहनतको फल प्राप्त भएको जनाउँदै त्यसमा सघाउने शिक्षक, अभिभावक, विद्यार्थी, गाउँपालिका नेतृत्व सबैलाई धन्यवाद दिए।उनले विद्यार्थीको उच्च शैक्षिक सफललाको शुभकामना व्यक्त गर्दै जहाँ गएपनि अनुशासन एवम् कर्तव्यलाई ख्याल गर्न सुझाव दिए।

४ जिपिए ल्याएका विद्यार्थी समीर अधिकारीले यो आफ्नो मात्रै सफलता नभई परिवार, विद्यालय प्रशासन तथा गाउँपालिकाको सफलता भएको उल्लेख गरे।उनले मोर्निड्डस्टारमा नर्सरीदेखि कक्षा १० सम्म पढ्दाको अनुभव राख्दै ४ जिपीए ल्याउन सजिलो नभएपनि असम्भव भने नरहेको औँल्याए।
त्यस अवसरमा गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का अध्यक्ष भरतमान् गुरुङ, वडा नं. २ का अध्यक्ष पीताम्बर भण्डारी, शिक्षा अधिकृत बलराम भुगाई, समाजसेवी चुडामणि अधिकारी, अभिभावक कमला केसी लगायतले पनि धारणा राखे।
विद्यालय संस्थापक लीलाधर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य कविता विकले स्वागत तथा शिक्षक दिलबहादुर जिसीले कार्यक्रम संचालन गरे।










