
ढिकुरपोखरी समाज पोखराको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा आज सकारात्मक सोच एवम् क्षमता विकास कार्यक्रम भएको छ।
कार्यक्रम उद्घाटन गर्नुहुँदै अन्नपूर्ण गाऊँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सकारात्मक सोचले जीवनमा ऊर्जा पैदा गर्ने बताउनुहुँदै त्यस्तो सोचले नै व्यक्ति सफल हुने औँल्याउनुभयो।उहाँले सकारात्मक सोचको कमी हुदाँ समाज विखण्डन, विग्रह तथा कुलतको बाटोमा गइरहेको जनाउनुहुँदै त्यस्तो सोच जीवनका लागि अपरिहार्य रहेको स्पष्ट पार्नुभयो।अध्यक्ष केसीले सकारात्मक सोच राख्न सके मात्र समाज परिवर्तन हुने सुनाउनुभयो।
समाजका अध्यक्ष लक्ष्मी अधिकारीले सकारात्मक सोचले व्यक्तिको क्षमता विकास हुने र क्षमता विकास भए आत्मनिर्भर हुन सक्ने जनाउनुभयो ।घर परिवारमा महिलाले क्षमता विकास गर्दै आत्मनिर्भर बन्ने हो भने पारिवारीक तथा सामाजिक जीवन सुन्दर बन्ने उहाँको भनाई छ।
सहजकर्ता पत्रकार दीपेन्द्र श्रेष्ठले सोच जस्तो छ दृष्टि त्यस्तै हुने चर्चा गर्नुहुँदै संसार दृष्टिमा भरपर्ने उल्लेख गर्नुभयो।उहाँले वस्तु जस्तो छ सोचाईमा त्यस्तो नदेखिने धारणा राख्नुहुँदै जीवनमा जहिले पनि सकारात्मक सोच राख्नुपर्ने सुझाउनुभयो।
कार्यक्रम साविक ढिकुरपोखरी घर भई हाल पोखरा बस्दै आउनुभएका दिदीबहिनीलाई लक्षित गरी संचालन गरिएको हो।
त्यस अवसरमा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, पुर्व अध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष सोमनाथ पौडेल, अन्नपूर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, अक्षयकोष संरक्षक कुलबहादुर गुरुङ कुलु ,सल्लाहकार मनपति अधिकारी लगायतले पनि बोल्नुभयो ।
समाजका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लोकनाथ भण्डारीले स्वागत तथा सचिव गणेश अधिकारीले कार्यक्रम संचालन गर्नुभयो।










