
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगत कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा कार्यरत वरिष्ठ प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई विदाइ गरिएको छ।
उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त तिमिल्सीनाको बिहीबार एक कार्यक्रमका बीच निर्देशनालयले कदरपत्र, करुवा, मायाको चिनो सहित दोसल्ला ओढाएर विदाइ गरेको हो।
कार्यक्रममा धारणा राख्नुहुँदै निर्देशक डा. बन्धुराज वरालले तिमिल्सीनाले लामो समय लुम्लेमा सेवा गर्नुभएको स्मरण गर्नुहुँदै विशेष गरी वागवानीको क्षेत्रमा तिमिल्सीनाको उल्लेख्य योगदान रहेको चर्चा गर्नुभयो।सेवा निवृत्त भएपनि निर्देशनालयले तिमिल्सीनाको सहयोग निरन्तर पाइरहने अपेक्षा समेत उहाँले सुनाउनुभयो।
वरिष्ठ प्राविधिक अधिकृत तिमिल्सीनाले जीवनभर कृषि क्षेत्रमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै आफू निर्देशनालयसँग निरन्तर जोडिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।सेवाबाट आफू सन्तुष्ट रहेको भनाई राख्नुहुँदै तिमिल्सीनाले सबै मिली नार्कको सोख जोगाइराख्नुपर्ने स्पष्ट पार्नुुभयो।
तिमिल्सीनाको वि.स २०५० असार ९ गते लोकसेवा पास गरी ना.प्रा.स.पदमा जाजरकोट जिल्लामा स्थायी नियुक्ति भई पदस्थापना भएको थियो।त्यसपछि २०५१ जेठदेखि नेपाल कृषि अनुसन्धान परिषद्को सेवामा समायोजन भई उहाँले हालसम्म अभिछिन्न योगदान दिनुभयो।
तिमिल्सीनाले २०५१ जेठदेखि २०५१ असोजसम्म राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा काम गर्नुभयो।त्यस्तै २०५१ कार्तिक देखि २०५९ साउनसम्म मत्स्य अनुसन्धान केन्द्र (बेगनास, फेवाताल र रुपाताल) पोखरामा सेवा पु¥याउनुभयो।
त्यसैगरी २०५९ भदौदेखि २८ जेठ २०८२ सम्म कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा प्राविधिक अधिकृत हुँदै वरिष्ठ प्राविधिक अधिकृतको रुपमा लामो समय योगदान गर्नुभयो।
लुम्लेमा रहदाँ बाह्य अनुसन्धान स्थल र लामो समय बागवानी अनुसन्धान इकाईमा काम गर्नुभयो । त्यसमा पनि विशेष गरी तरकारीजन्य परीक्षण, बीउ उत्पादन, विभिन्न तालिम सञ्चालन, विभिन्न जिल्लामा जिल्ला स्तरीय, पालिका स्तरीय तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा सहजकर्ताको भुमिका निर्वाह पनि गर्नुभयो।
त्यस्तै उहाँले विभिन्न रेडियो, टेलिभिजन, पत्रपत्रिकामा कृषि प्रविधि सम्बन्धमा अन्तरवार्ता दिनुभयो। कृषि अनुसन्धान निर्देशनालयबाट प्रकाशित हुने लुम्ले दर्पणमा तरकारी खेती र बीउ उत्पादन सम्बन्धी प्रविधिका उहाँका दर्जनौं लेख प्रकाशित छन्।
त्यस्तै तिमिल्सीनाको विभिन्न निकाय एवम् कृषक तथा विधार्थीहरुलाई परामर्श प्रदान गरेको , विभिन्न जिल्लामा तरकारी खेती सम्बन्धी सम्भाव्यता अध्ययन टोलीमा रही कार्य गरेको, तरकारीको अलवा ओखर, सुन्तला कागती र तरवारे फूलको काममा संलग्न भई सेवा गरेको अनुभव छ।
यसैबीच वरिष्ठ प्राविधिक अधिकृत तिमिल्सीनालाई निर्देशनालय अन्र्तगतको कर्मचारी एसोसियसन, वागवानी, मजदुर यनिटले पनि छुट्टाछुट्टै कार्यक्रम गरी विदाइ गरेका छन्।










