अन्नपूर्णको बजेटमा मानव विकासलाई प्राथमिकता

-


     श्रीभद्र पौडेल     
     असार १२ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिकाले आ.व ०८२÷८३ का लागि रु. ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट सार्वजनिक गरेको छ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले मंगलबार १८ औं गाउँसभामा प्रस्तुत उक्त बजेट मानव विकासमा केन्द्रीत छ।
बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ। त्यस्तै पर्यटन र कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको छ । आगामि वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न दुध, चल्ला र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिएको छ।
पर्यटन प्रवद्र्धनका लागि होमस्टे व्यवस्थापन र सञ्चालनमा बजेट विनियोजन गरिएको छ भने अन्नपूर्ण हाट बजार तथा व्यापार मेला सञ्चालनका लागि ३ लाख छुट्याइएको छ।गाउँपालिकाले स्थानीय सांस्कृतिक कार्यक्रम, पर्व तथा महोत्सवहरु जस्तैः ढिकुरपोखरीमा तीज मेला, भदौरे कोदो महोत्सव, अन्नपूर्ण म्याराथन घान्द्रुक, हनी हन्टिङ प्रतियोगिता, फागु महोत्सव, शीतल गुफा महोत्सव आदिलाई समेत बजेट राखेको छ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६० लाख, सडक, चक्रपथ तथा अन्य सडक पूर्वाधारमा एकमुष्ठ ११ करोड १८ लाख ७२ हजार, वडा कार्यालय र स्वास्थ्य भवन निर्माणमा ७७ लाख, झोलुङगे पुलको दायित्व भुक्तानीमा ५० लाख विनियोजन गरिएको छ । आधारभूत अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १२ लाख, स्वास्थ्य विमा प्रिमियम वृद्धिसहित ८७ लाख, धान्द्रुक स्वास्थ्य चौकीमा ल्याव स्थापना, आयुर्वेद सेवा र योग अभ्यासका लागि बजेट व्यवस्था गरिएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपांगता भएकाहरुका लागि ३७ लाख, ज्येष्ठ नागरिक तीर्थ भ्रमणका लागि ४ लाख, स्वच्छ खानेपानी कार्यक्रमका लागि ३० लाख र विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट छुट्याइएको छ।
फोहोरमैला प्रशोधन केन्द्र स्थापना, मेलमिलाप केन्द्र सञ्चालन, कानुनी सचेतना, सामाजिक विकृति उन्मूलन, युवा परिचालन, प्राविधिक शिक्षा छात्रवृत्ति लगायतका कार्यक्रमका लागि समेत बजेट छ । गाउँपालिका तथा वडाहरुको प्रशासनिक र चालु खर्चका लागि ९ करोड ३० लाख विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मानव विकासलाई ध्यान दिई यसपटक बजेट ल्याएको दावी गरे । उनले अव त्यसको कार्यान्वयनमा ध्यान दिने स्पष्ट पारे ।असाध्यै चुनौतीका साथ अन्नपूर्ण आधार शिविर पुग्ने हेलीकप्टरबाट पालिकालाई पैसा आउने भएको छ, विस्तारै लघु जलविद्युत् पनि निर्माणको चरणमा छन,् ति गाउँपालिकाको आम्दानीका स्रोत हुन् अध्यक्ष केसीले भने उज्यालो अन्नपूर्ण बनाउने गरी बजेट ल्याएका छौं।
प्रधानमन्त्री कार्यालयका निजी सचिव समेत रहेका नेपाल सरकारका सहसचिव बिनोदबहादुर कुँवरले बजेटका क्रममा अन्नपूर्णका कतिपय अभ्यासहरु अन्य पालिकाले पनि आत्मसात गर्नुपर्नेमा जोड दिर्दै आफू अन्नपूर्णको विकासमा हुलाकी बन्न तयार रहेको औँल्याए।
बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष अधिकारीले शिक्षा, स्वास्थ्य जस्ता मानव विकासका क्षेत्रलाई जोड दिएर यसपटक बजेट ल्याएको बताइन्।उनले प्रस्तुत बजेट पूर्ण भ्रष्टचार रहित हुने दावी गर्दै पारदर्शितालाई ख्याल गरिएको जनाइन्।
सभामा गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का अध्यक्ष भरतमान् गुरुङ, वडा नं. ५ अध्यक्ष जीवनाथ पौडेल(शंकर), वडा नं. २ का अध्यक्ष पिताम्बर भण्डारी, वडा सदस्यहरु भानुभक्त दाहाल, गौमाया नेपाली, नीलकण्ठ जैंसी लगायतले पनि धारणा राखे।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले संचालन गरे।