
पोखरा–२५, हेमजा स्थित देवीस्थान सेवा समाजले शनिबार सरसफाई गरेको छ । समाजले हेमजामा हुन लागेको हिले महोत्सव क्षेत्र सरसफाई गरेको हो।
‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ समाजको आयोजनामा यही १५ असारमा पाचौं हेमजा हिले महोत्सव हुन लागेको छ ।जसको पूर्व तयारी स्वरुप महोत्सव स्थल सरसफाई गरिएको हो।
वडा स्थित विभिन्न टोलविकास संस्था, आमा समूह, संघसंस्था लगायत स्थानीयको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल तथा विष्णुपादुका मन्दिर परिसर सरसफाइ गरिएको छ।
विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन, हेमजाका कृषकहरुको सम्मान र युवाहरुलाई कृषिमा प्रोत्साहनका लागि हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान् श्रेष्ठले जानकारी दिए ।
समाजका निवर्तमान् अध्यक्ष गुरु हरीशरण पौडेलले महोत्सवले विष्णुपादुका भगवतीको महिमा बढ्नुका साथै हेमजाका कृषकहरुलाई कृषिमा प्रोत्साहन गराउने विश्वास लिएको सुनाए।
महोत्सवको आकर्षणमा रस्साकस्सी, हिले दौड, घैँटो फुटाउने, हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता छन्।










