काँडेमा होमस्टे संचालनको प्रयास

-


     श्रीभद्र पौडेल    
     असार ४ गते २०८२ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिका–३, काँडेमा घरबास(होमस्टे) संचालनको प्रयास थालिएको छ। जसअन्र्तगत हालै काँडे होमस्टे सम्भावना, अवसर र चुनौती विषयक कार्यशाला भएको छ।

       कार्यशालामा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले काँडे आसपासको क्षेत्र होमस्टेका लागि सम्भावनायुक्त क्षेत्र रहेको जनाउँदै त्यहाँका वासिन्दा तयार भए होमस्टे संचालनमा पालिका सहयोग गर्न तयार रहेको बताए।

       ‘अर्गानिक खानाका लागि मान्छे पैसा तिर्न तयार छ, पर्यटकका लागि आतित्थ्यता पनि महत्वपूर्ण हुन्छ, अध्यक्ष केसीले भने बासका लागि पनि गाउँघरको झल्को आउनुपर्दछ।’उनले मर्दी हिमाल तथा अन्नपूर्ण आधार शिविर प्रवेशद्वारका रुपमा काँडेलाई चिनाउँदै त्यस आसपासका क्षेत्रमा पनि पर्यटक भुल्न सक्ने जनाए।

       काँडे नजिकै मराउँचे, पाउँदुरकोट, गोलडाँडा लगायतका ठाँऊहरु छन् ।त्यहाँ पनि कृषि पर्यटनको सम्भावना छ, अध्यक्ष केसीले भनेः काँडेमा होमस्टे चलाउने, मराउँचे, गोलडाँडा र पाउँदुरकोटमा अर्गानिक अन्न, कुखुरा, खसीवोका एवम् तरकारी फलाउने।हुर्काउने, त्यहीको उत्पादन घरबासमा प्रयोग गर्ने हो भने दिगो रुपमा होमस्टे चल्छ केसीले भने।

केसीले घासबास मार्फत स्थानीयको आर्थिक समृद्धिमा लागि टेवा पुग्ने विश्वास लिदै गाउँपालिकाले कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माण मार्फत समृद्धि हासिल गर्न खोजेको स्पष्ट पनि पारे।

वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेलले अन्नपूर्णलाई समृद्धिसँग जोड्न घरबास कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिर्दै काँडेवासीले होमस्टे संचालनको नयाँ सोच ल्याएकोमा खुशी व्यक्त गरे।

अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारीले पर्यटकीय क्षेत्रको मुखद्वारका रुपमा काँडेलाई चिनाउँदै होमस्टे बोझका रुपमा नलिई स्वःस्फूर्त गरिनुपर्ने बताए।

माछापुच्छे« गाउँपालिका ८ का अध्यक्ष राम गुरुङले काँडे पर्यटकीय स्थल रहेको जनाउँदै पर्यटकका लागि त्यहाँ होमस्टे व्यवस्थापनको पक्ष मात्रै मिलाउनुपर्ने औँल्याए।होमस्टे संचालनका लागि इमान्दारीता, धर्यता एवम् लगनशीलता चाहिने स्पष्ट पार्दै अध्यक्ष गुरुङले त्यसका लागि महिलाले नेतृत्व गरे अझ राम्रो हुने धारणा राखे ।कास्की आसपासको क्षेत्रमा पछिल्लोपटक होमस्टेको परिभाषा फेरिदै गएको उनको तर्क छ।

ल्वाङ सामुदायिक होमस्टेकी उपाध्यक्ष माया गुरुङले होमस्टे संचालनका लागि पुख्यांैली कुराहरुलाई प्रवद्र्धन गर्नुपर्ने स्पष्ट पार्दै पर्यटकको माग अनुसार खाना र बासको व्यवस्था गर्न सक्नुपर्ने औँल्याइन्। पाहुनालाई होमस्टे आउदाँ माइत वा मामाघर आएजस्तो हुनुपर्दछ उपाध्यक्ष गुरुङले भनिन्ः ‘होमस्टे र होटल फरक कुरा हो।’

स्थानीय पर्यटन व्यवसायी विकास गुरुङले पर्यटनलाई उद्योगमा रुपमा हेरिनुपर्ने चर्चा गर्दै त्यससँग स्थानीय कला, संस्कृति पनि जोडिने प्रस्टाए ।उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके होमस्टेकोे अवधारण सफल हुने धारणा राखे।

राप्रपा नेपालका केन्द्रीय सदस्य समेत रहेका स्थानीयवासी कुलबहादुर गुरुङ ‘कुलु’ले काँडेमा होमस्टे संचालनको अवधारणा आफूलाई राम्रो लागेको जनाउँदै त्यसका लागि अर्गानिक खाध्यवस्तु महत्वपूर्ण हुने भनाई राखे ।होमस्टे मार्फत त्यहाँ फल्ने स्कुस, साँग, बडमरे र हलहलेको सागको पनि प्रवद्र्धन हुने उनको अपेक्षा छ।

स्थानीय पर्यटन व्यवसायी नविन गिरीले काँडे आसपासको क्षेत्रमा एक रातमा करिव एक सय ५० पर्यटक राख्न सकिने तथ्याङ पेश गर्दै त्यसमा लागि पर्यटकमैत्री पूर्वाधार निर्माण अत्यावश्यक भएको औँल्याए।

त्यस अवसरमा कार्यपालिका सदस्य पार्वती पौडेल, लिवर्डका इन्द्रप्रसाद पौडेल, वडा सदस्य कृष्णप्रसाद पौडेल, स्थानीय पर्यटन व्यवसायी सुशिल भट्टचन, पाउँदुरकोट युवा क्लवका नविन गुरुङ, काँडे वराह मन्दिरका सचिव युवराज गुरुङ लगायतले पनि होमस्टे संचालनका अवसर र चुनौतीबारे धारणा राखे।

उनीहरुले काँडेलाई मर्दी हिमाल जाने प्रारम्भ विन्दुका रुपमा चित्रित गर्दै स्थानीय काँडे वराह मन्दिर, अष्टे«लियन क्याम्प, पाउँदुरकोट, मराउँचे र गोलडाँडा स्थित पदमार्ग, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, लुम्ले गाउँ, थाप्लेको भुमे, काँड वनमा फूल्ने लालीगुराँस, त्यहाँ निर्माण गर्न लागिएको सहिद पार्क, नजिकै रहेको अन्नपूर्ण बहुप्राविधिक शिक्षालयका विभिन्न गतिविधि पर्यटकको रोजाईमा पर्न सक्ने औँल्याए ।त्यसका साथै गर्मी छल्न पनि पर्यटकहरु काँडे आउने उनीहरुको भनाई छ ।

होमस्टे संचालनमा पारिवारीक सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने उनीहरुले प्रस्टाए।त्यसका साथै काँडेमा प्रर्याप्त पार्किङ क्षेत्र पनि हुनुपर्ने उनीहरुको तर्क छ।

कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष केसी, माछापुच्छे« ८ का अध्यक्ष राम गुरुङ, ल्वाङ सामुदायिक होमस्टेकी उपाध्यक्ष माया गुरुङ तथा स्थानीय पर्यटन व्यवसायीद्वय नविन गिरी र विकास गुरुङले कार्यशाला सहजीकरण गरे।

काँडे तथा त्यस आसपासका स्थानीयले होमस्टे संचालनका लागि प्रयास थालेका छन्।त्यसअनुसार नै हालै कार्यशाला गरिएको हो ।कार्यशालासँगै त्यहाँ समिति गठन गरी दर्ता प्रक्रिया समेत अगाडि बढाइएको छ।