जनप्रेमी आधारभूतको ७० औं वार्षिकउत्सव

-


     श्रीभद्र पौडेल    
     जेठ १३ गते २०८२ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, किम्चे स्थित जनप्रेमी आधारभूत विद्यालयको ७० औँ वार्षिकउत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
समारोह उद्घाटन गर्दै वडाध्यक्ष गौतम गुरुङले विद्यालय शिक्षाको आवश्यकता औँल्याउँदै मानिसमा अनुशासन महत्वपूर्ण हुने बताए।उनले वडाको शैक्षिक धरोहरका रुपमा जनप्रेमीलाई चिनाउँदै संस्कारसहितको शिक्षा अपरिहार्य रहेको धारणा राखे।
कार्यपालिका सदस्य भुपाल घर्तीले गाउँपालिकाले शिक्षा सुधारमा पहल गरिरहेको स्पष्ट पार्दै कम्तीका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी शैक्षिक क्रियाकलाप संचालन गर्ने नीति लिइएको जानकारी दिए ।उनले विद्यालय प्रगतिको कामना गर्दै कार्यपालिका सदस्यको हैसियतले विद्यालयका आवश्यकता पहिचान गरी सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
विद्यालयका अध्यक्ष मन्तोष घलेले शैक्षिक गुणस्तर बृद्धिमा आफूहरुको ध्यान रहेको उल्लेख गर्दै त्यसमा सघाउन अभिभावक तथा विद्यार्थीमा अनुरोध गरे।
प्रधानाध्यापक बैकुण्ठ दाहालले सबैको सहयोग सद्भावबाट विद्यालय संचालन भइरहेको जनाउँदै अभिभावकले चाँसो राख्ने विद्यालय मात्रै सफल बन्ने स्पष्ट पारे ।उनले गत आ.वको आयव्यय तथा भावी योजना पनि सुनाए।
अक्षयकोषकर्ता हितकाजी गुरुङले विद्यालयको हित तथा आर्थिक संकलनमा आफ्नो सक्दो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
त्यस अवसरमा समितिका पूर्व पदाधिकारी, बुद्धिजीवी, समाजसेवी लगायतले पनि धारणा राखे ।त्यस्तै पूर्व शिक्षक स्वःपूर्णसिंह परियारको स्मृति दिवस अवसरमा उनकी धर्मपत्नी मायाकुमारीबाट विद्यार्थीलाई शैक्षिक सामाग्री एवम् शिक्षकलाई सम्मान गरियो ।त्यस्तै मञ्जुश्री फाइनान्स लिमिटेडले पनि केही शैक्षिक सामग्री हस्तान्तरण गर्यो ।
विद्यालय अध्यक्ष घलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक गायत्री पौडेल र विद्यार्थी सुभाष गुरुङले स्वागत तथा प्रअ दाहालले कार्यक्रम संचालन गरे।