
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ ।
अभियानका क्रममा पोखरा आइपुगेको अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले हिजो साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैतडीदेखि सुरु भएर पोखरासम्म आइपुग्दा माओवादी जागरण अभियान आम जनता सबैको अभियान बन्न पुगेको बताउनुभएको हो ।
अध्यक्ष दाहालले भन्नुभयो,“स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा(एमाले)का सरकार भएका ठाउँमा समेत पालिका नेतृत्वबाटै अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त गरिएको छ । सयौँ ठाँउमा प्रत्यक्ष सहयोग समेत भएको छ । यो माओवादीको मात्र अभियान नभएर राष्ट्रिय एकताको अभियान तथा देशमा राजनीतिक अस्पष्टता र अराजकताको समाधानको अभियान बन्न पुगेको छ ।”
अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानको पहिलो चरण आज शनिबार पोखरामा सभा आयोजना पछि रोकिने समेत जानकारी दिनुभयो।
अभियानका क्रममा पार्टीका सबै शीर्ष नेताहरु सहभागी भएको र त्यस क्रममा जनता, व्यवसायी, कर्मचारी, बुद्धिजीवि लगायतबाट प्राप्त सुझावहरुलाई पार्टीले ग्रहण गरेको समेत उहाँले स्पष्ट पार्नुभयो ।अध्यक्ष प्रचण्डले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो।
“अभियानका क्रममा विभिन्न संघसंस्था, राजनीतिक पार्टी र जनताका मागहरु प्राप्त भएका छन् । ती मागहरु सरकारलाई बुझाउने योजना छ र सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्नेछौँ । अध्यक्ष दाहालले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले पार्टी सरकारमा हुँदा र अहिले प्रतिपक्षमा रहँदा समेत सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्धाहरुलाई नछाडेको दावी समेत गर्नुभयो ।
“सामाजिक न्याय र आर्थिक मुद्धाबारे सदन र सडकमा निरन्तर खबरदारी गछौँ र सरकारलाई सच्चिनका लागि आग्रह गर्दछौ ।”अध्यक्ष दाहालले भन्नुभयो ।
अभियान अन्र्तगत हिजो अध्यक्ष दाहाल नेतृत्वको टोलीलाई कास्कीको नयाँपुल, नागडाँडा, हेमजा, वगरमा स्थानीयले स्वागत गर्नुभएको थियो ।










