
‘अन्नपूर्ण दर्पण ३’ मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।अन्नपूर्ण गाउँपालिका कास्कीले प्रकाशन गरेको उक्त दर्पणमा पछिल्लो १ वर्षमा(कार्यकालको तेस्रो वर्षमा) पालिकाले हासिल गरेका उपलब्धीलाई समेटिएको छ।
दर्पण सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्णको समृद्धिका लागि आफू नेतृत्वको टीम लागि परेको बताउँदै यसबीचमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिए।उनले आर्थिक समृद्धिका लागि अन्नपूर्ण आधार शिविर पुग्ने हेलिकप्टर कम्पनीसँग प्रतिउडान रु.१० हजार लिने व्यवस्था गरिएको स्पष्ट पार्दै स्रोत बृद्धि कै लागि मोदीखोलामा अनूमति लिएका ५ जलविद्युत् परियोजना निर्माण सुरु गर्न पहल भइरहेको पनि सुनाए।
अध्यक्ष केसीले पालिका गान निर्माण, शिक्षाको नतिजा सुधार, पालिकाको जनशक्ति विकेन्द्रीकरण, स्वास्थ्य विमा, कृषि उपज संकलन केन्द्र स्थापना लगायतलाई पछिल्लो १ वर्षका उपलब्धी सम्झर्दै उतार चढावका बीच कार्यकाल बितिरहेको औँल्याए ।उनले गरिव जनतालाई सहयोग पुग्ने गरी आगामि वर्षको नीति कार्यक्रम एवम् बजेट ल्याउने प्रतिबद्धता समेत जनाए।
तत्कालिन जिविस सभापति पुण्यप्रसाद पौडेलले अन्नपूर्णको परिचयमा इतिहासका कुराहरु पनि समेट्नुपर्ने जनाउँदै स्रंोत साधनको उपलब्धता अनुसार पालिकाले सक्दो कार्य गरिरहेको आफूले पाएको अनुभव राखे ।उनले अन्नपूर्ण संरक्षण क्षेत्रबाट पनि स्रोतसाधन जुटाई पालिका विकास गर्नुपर्ने स्पष्ट पारे।
उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले पालिकाको समृद्धिका लागि समन्वय तथा सहकार्यका जोड दिर्दै आगामि बजेट गरिव, निमुखा, सीमान्तकृत जनताको पक्षमा ल्याउने प्रतिबद्धता जनाइन्।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दर्पणबारे प्रकाश पार्दै पछिल्लो १ वर्षमा २६ वटा कानुन पास गरिएको जानकारी दिए ।कृषि उपज संकलन केन्द्र स्थापना, जैविक विविधता मेला, गड्यौला प्रवद्र्धन कार्यक्रम, कृषि विमा, नयाँ दुग्ध संकलन केन्द्र स्थापना, पालिका वीचमा असल अभ्यास कार्यक्रमलाई निरन्तरता जस्ता कार्यक्रम महत्वपूर्ण भएको भन्दै अधिकृत पोखरेलले गरिव जनतालाई सम्पन्न बनाउने पक्षमा पालिका प्रयासरत रहेको उल्लेख गरे।
त्यस अवसरमा पूर्व उपाध्यक्ष सगुन गुरुङ, पालिका प्रवक्ता समेत रहेका वडा नं.७ का अध्यक्ष भरतमान् गुरुङ, वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर), एमाले अन्नपूर्ण अध्यक्ष चुडामणि अधिकारी, कांग्रेसका यमप्रसाद भण्डारी, नेकपा एकीकृत समाजवादीका कुलप्रसाद पौडेल, राप्रपा पालिका अध्यक्ष हरीराम भण्डारी, पालिका स्तरीय महिला संजाल अध्यक्ष कमला केसी, नेपाल शिक्षक महासंघ अन्नपूर्ण अध्यक्ष टंकप्रसाद देवकोटा लगायतले पनि धारणा राखे।
दर्पणमा गाउँपालिकाको परिचय एवम् वस्तुस्थिती, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा गरिएका गतिविधि एवम् गाउँसभा, विषयगत समिति तथा कर्मचारीहरुको नामावली तथा सम्पर्क नं.समेटिएको छ ।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रवक्ता गुरुङले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत पोखरेलले कार्यक्रम संचालन गरे।










