अन्नपूर्ण पूर्ण खोप सुनिश्चित

-


     श्रीभद्र पौडेल    
     वैशाख २८ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
गाउँपालिकामा रहेका १६ देखि २३ महिनाभित्रका कुल १ सय ६१ जना बालबालिका सबैमा १४ वटा खोपको पूर्ण मात्रा पुगेसँगै आइतबार एक कार्यक्रमका बीच अन्नपूर्णलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खोपको महत्वमाथि प्रकाश पार्दै स्वास्थ्य नै धन भएको बताए ।स्वास्थ्यमा गरेको लगानी खेरा नजाने स्पष्ट पार्दै अध्यक्ष केसीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा सघाउने सरोकारवाला सबैमा धन्यवाद प्रकट गरे।
उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका अतुलनीय रहेको चर्चा गर्दै स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्ने पक्षमा पालिका रहेको औँल्याइन्।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले स्वास्थ्यलाई ख्याल गर्न पालिकावासीलाई आग्रह गर्दै खोपले वालबालिकाको सन्तुलित विकासमा योगदान पुग्ने चर्चा गरे ।
त्यस अवसरमा पालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का अध्यक्ष भरतमान् गुरुङ, ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर), स्वास्थ्य कार्यालय कास्कीका फोकल पर्सन नरबहादुर सारु, नागडाँडा स्वास्थ्य चौकी इञ्चार्ज लोकबहादुर भण्डारी, स्वयम्सेविका राधा अधिकारी लगायतले पनि धारणा राखे।
कार्यक्रमका बीच वडा नं.१ र २ को समूहले संदेशमूलक गीत तथा वडा नं.५ को समूहले नृत्य प्रस्तुत गरे ।त्यस्तै खोप सुनिश्चितता तथा दिगोपनामा सघाउने स्वास्थ्य चौकी एवम् वडा खोप समन्वय समितिलाई सम्मान गरियो।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दाङसिङ स्वास्थ्य चौकी इञ्चार्ज सागर तिवारीले स्वागत तथा गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले कार्यक्रम संचालन गरे।