लुम्लेको ठाडो भीरमा रक क्लाइमिङ निर्माण गर्नुपर्ने

-


     श्रीभद्र पौडेल    
     वैशाख १५ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका–६, लुम्ले स्थित ठाडो भीरमा रक क्लाइमिङ गरी पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको छ।
अन्नपूर्ण सञ्चार तथा बहुउद्देश्यीय प्रा.लिको सहजीकरणमा शुक्रबार भएको गाउँपालिकाको चालु आ.वको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईका बीच लुम्लेवासीले त्यसतर्फ पालिका नेतृत्वको ध्यानाकर्षण गराए।
उक्त भीर करिव ५ सय मिटरको छ ।त्यहाँ रक क्लाइमिङका अलवा स्काई साइकिलिङ पनि गर्न सकिन्छ र त्यहाँबाट कान्छी वराहसम्म पदमार्ग निर्माण गरे, पर्यटन मार्फत पालिकाले राम्रै आन्दानी लिन सक्ने लुम्लेवासीको ठहर छ।
त्यसको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले चालु आ.वतर्फ १० लाख बजेट विनियोजन गरिसकेको छ ।त्यस अन्र्तगत हाल केही कार्य पनि अगाडि बढेको पाइन्छ, अव पालिकाको ध्यान पनि रक क्लाइमिङ निर्माण र त्यसको पूर्णतातर्फ हुनुपर्छ लुम्लेका निलकण्ठ जैसीले भने।
यो महत्वपूर्ण प्रोजेक्ट हो, जसका लागि विदेशबाट समेत सामाग्री एवम् जनशक्ति मगाउनुपर्ने अवस्था छ, यसले लुम्लेलाई जुरुक्कै माथि उठाउछ, जसमार्फत लुम्ले तथा समग्र अन्नपूर्ण गाउँपालिकाको विश्ववजारमा प्रचार हुन्छ जैसीले सुनाए।
लुम्ले कविता गाउँका अलवा गायक स्वः प्रविण गुरुङ जन्मस्थानमा रुपमा पनि चिनिन्छ।त्यहाँ नेपालकै सबैभन्दा धेरै पानी पर्ने विश्वास गरिन्छ।
सुनुवाईकै बीच लुम्लेवासीले मध्ये मोदी जलविद्युत्का कारण (आयोजनाले न्यूनतम १० प्रतिशत पानी नछाड्दा) आफूहरुलाई दाहसंस्कारमा समस्या हुने गरेको, पुरानोघडेरी, पसल, माँझघर हुँदै ढाँके पुग्ने सडक स्तरउन्नतीमा बजेट अभाव भएको, वडामा आधारभूत स्वास्थ्य भवन निर्माण नभएको, लान्द्रुक खानेपानी योजना निर्माणमा ढिलाई भएको भन्दै त्यसमा पहल गर्न पालिकाको ध्यानाकर्षण गराए।
त्यस्तै गोरेटो बाटोले कम महत्व पाएको, लक्षीत वर्गमा वजेट नपुगेको, गाउँमा सिंहदरवार पुगेको महशुस लुम्लेवासीलाई नभएको, अन्नपूर्णका सामुदायिक विद्यालयहरुमा पनि भाइबन्धु हुने गरेको, हालसम्म पनि प्रशासनिक भवन निर्माण सुरु नभएको, एम्बुलेन्स अभाव भएको, छलिमाया अस्पताल अलपत्र परेको, ढल निकास नभएको, भुक्षय बढेको, कतिपय एकल पुरुषहरु पनि पीडामा पर्ने गरेको, लुम्ले क्षेत्रमा लोकमार्गको नक्साङकन नभएको, वाटाघाटा अलपत्र परेकोतर्फ पनि लुम्लेवासीले सचेत गराए।
त्यस अवसरमा स्थानीयहरु चित्रबहादुर गुरुङ, जौमाया देवकोटा, भक्तिराम देवकोटा, भरत देवकोटा, नेत्र चापागाई, पीपलप्रसाद देवकोटा, मनिराम विक, शिवप्रसाद पौडेल, पुष्पराज चापागाई, लीला देवकोटा, बुद्धिमाया विक, लक्ष्मण देवकोटा, अनिता विक, विष्णु विक, भरत देवकोटा(कविता गाउँका अध्यक्ष), बुद्धिशुभा गुरुङ, विष्णुमाया विक लगायतले विभिन्न गुनासा, सुझाव एवम् सल्लाह दिए।
सुनुवाईलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षक आन्दोलनप्रति संकेत गर्दै शिक्षकले आफ्नो अधिकार माग्दा कर्तव्यलाई पनि ख्याल गर्नुपर्ने सुझाए ।उनले पालिका आफ्नो आम्दानी बढाउन लागि परेको स्पष्ट पार्दै त्यस अन्र्तगत अन्नपूर्ण आधार शिविर पुग्ने हेलीकप्टरसँग प्रति हेली रु.१० हजार उठाउन थालिएको अवगत गराए।
अध्यक्ष केसीले चालु आव भित्र पालिकाको प्रशासनिक भवन शिलान्यास हुने विश्वास दिलाउँदै लुम्लेवासीका समस्याहरुमा आफूहरु गम्भिर रहेको सुनाए ।उनले आलोचना भन्दा सुझाव दिने संस्कार महत्वपूर्ण हुने भनाई पनि राखे।
उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले मानिसले भौतिक विकासलाई मात्रै जोड दिदाँ मानविय विका ओझेलमा पर्ने गरेको स्पष्ट पार्दै मानिसमा मानवीय संवेदना क्रमश हराउँदै जानु दुःखद् भएको जनाइन् ।उनले महिला संजाल मार्फत दिदीबहिनीको क्षमता विकास गर्न पालिका प्रयासरत रहेको स्पष्ट पारिन् ।
प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले पालिकाको पछिल्लो चौमासिक अवधिका प्रगति सुनाउँदै चालु तथा पुँजीगत दुवैतर्फ गरी हालसम्म ५७ प्रतिशत प्रगति भएको जानकारी दिए ।उनले पालिका अस्पताल संचालनको प्रयास भइरहेको स्पष्ट पार्दै गाउँपालिका वडा स्तरमा सेवा विस्तारमा लागि परेको भनाई राखे।यसवर्ष १५ घरको नक्सापास गरिएको पनि उनले अवगत गराए।
पालिका प्रवक्ता समेत रहेका वडा नं.७ का अध्यक्ष भरतमान् गुरुङले प्रशासनिक भवन निर्माण पेचीलो बन्दै गइरहेको औँल्याउँदै त्यसलाई छिट्टै समाधान गरिने स्पष्ट पारे ।उनले अन्नपूर्णमा भष्ट्रचार विरुद्ध शुन्य सहनशीलता रहेको पनि उल्लेख गरे।
अन्नपूर्ण ६ का अध्यक्ष एकदेव देवकोटाले रक क्लाइमिङ योजना सफल भए लुम्लेको मुहार फेरिने अवगत गराउँदै सरोकारवाला सबै मिली उक्त योजनालाई पूर्णता दिनुपर्ने औँल्याए।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम पत्रकार श्रीभद्र पौडेलले सहजीकरण गरे।